बुटवल — दशैंको लामो बिदा सुरु भएसँगै घुमफिरको योजना बनाउनेहरू बढेका छन्। परिवार, साथीभाइ र आफन्तसँग समय बिताउन रुपन्देहीमा धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा साहसिक पर्यटनका विभिन्न गन्तव्य छन्।
पछिल्लो समय यी गन्तव्यमा बुटवल–पाल्पा जोड्ने लुम्बिनी केबलकार पनि थपिएको छ। बुटवलको बमघाटदेखि पाल्पाको बसन्तपुरसम्म सञ्चालनमा आएको केबलकारले तराई र पहाडलाई जोड्नुका साथै धार्मिक पर्यटन, दृश्यावलोकन र साहसिक गतिविधिलाई एउटै गन्तव्यमा समेटेको छ।
करिब तीन किलोमिटर केबलकार यात्रा गरेपछि पुगिने बसन्तपुर पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। माथिल्लो स्टेसनमा रहेको कामाख्या देवी मन्दिर यहाँको प्रमुख धार्मिक आकर्षण हो। मन्दिरसँगै पहाडी वातावरण, चिसो हावापानी र बुटवल तथा तराई क्षेत्रको दृश्यले बसन्तपुर पुग्नेहरूलाई आकर्षित गर्ने गरेको छ।
केबलकार यात्रा आफैंमा पनि पर्यटकका लागि नयाँ अनुभव बनेको छ। बसन्तपुर पुगेपछि धार्मिक दर्शनसँगै दृश्यावलोकन र साहसिक गतिविधिको अवसर पाइने भएकाले यो गन्तव्य नयाँ पुस्तामाझ समेत लोकप्रिय बन्दै गएको छ।
बसन्तपुरमा पछिल्लो समय पर्यटन पूर्वाधार विस्तार भएका छन्। जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्विङ, भ्यू प्वाइन्ट, बाल उद्यान तथा खानपिनका सुविधाले बसन्तपुरलाई धार्मिक स्थलमा मात्र सीमित नराखी पारिवारिक घुमफिरको गन्तव्यका रूपमा विकास गरेको छ।
केबलकार सञ्चालनमा आएपछि बसन्तपुरमा पर्यटकको चहलपहल पनि बढेको सञ्चालक कम्पनीको भनाइ छ। कम्पनीका अनुसार सञ्चालनको दुई वर्षमा ३ लाख ५० हजारभन्दा बढीले केबलकार यात्रा गरिसकेका छन्।
धार्मिक आस्था, पहाडी वातावरण र साहसिक गतिविधिको संयोजन भएकाले दशैंको बिदामा बुटवल–बसन्तपुर क्षेत्र घुमफिरका लागि आकर्षक गन्तव्य बनेको छ।
दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
Advertisement
तपाईको प्रतिक्रिया