भैरहवा — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा ऐन वास्तविक धरातलमा आधारित र दीर्घकालीन प्रभाव पार्ने गरी निर्माण गरिने बताएका छन्।
लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालासँग छलफल गरेर प्राप्त सुझावका आधारमा ऐन निर्माण गरिने बताए।
मन्त्री पोखरेलका अनुसार विद्यालय शिक्षा ऐनसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको कामसमेत अघि बढिरहेको छ। ऐन निर्माण र पाठ्यक्रम परिमार्जनले नेपालको शिक्षा क्षेत्रको दीर्घकालीन रूपान्तरणमा सहयोग पुग्ने उनको भनाइ छ।
शिक्षा विभागको आयोजनामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८३/८४ का नीति, निर्देशिका, मापदण्ड तथा कार्यक्रम कार्यान्वयनका विषयमा छलफल तथा अभिमुखीकरण गरिएको थियो।
Advertisement