भैरहवा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्य विश्वविद्यालयभन्दा पृथक र विशिष्ट पहिचानसहित अघि बढाउनुपर्ने बताएका छन् ।
शुक्रबार विश्वविद्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले बुद्धको जन्मभूमि लुम्बिनीमा स्थापित विश्वविद्यालयले बौद्ध दर्शन, मौलिक ज्ञान र नेपालको रैथाने पहिचानलाई विश्वमाझ चिनाउने गरी आफ्नो उद्देश्य केन्द्रित गर्नुपर्ने बताए ।
उनले विश्वविद्यालयलाई इन्जिनियरिङ, विज्ञानलगायतका परम्परागत विषयमा मात्र सीमित नराखी बौद्ध दर्शनसँग सम्बन्धित विषयको अध्ययन, अनुसन्धान र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताए ।
‘विश्वविद्यालयका आंगिक क्याम्पस विस्तार हुँदै गए पनि यसको मूल उद्देश्य र बौद्ध दर्शनको अध्ययन–अध्यापनबाट विचलित हुनुहुँदैन,’ उनले भने ।
विश्वविद्यालयले आफ्नो विशिष्ट पहिचान कायम राख्दै अन्य शैक्षिक संस्थासँग सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । लुम्बिनी बौद्ध विश्वविद्यालयमार्फत नेपालको रैथाने पहिचान, मौलिकता र स्वदेशी ज्ञानलाई विश्वमाझ चिनाउने पर्याप्त सम्भावना रहेको उनले बताए ।
रसुवा बाढीपीडितलाई १० लाख सहयोग
यसैबीच, लुम्बिनी बौद्ध विश्वविद्यालयले रसुवाका बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।
विश्वविद्यालयले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री पोखरेलमार्फत राहत कोषमा उक्त रकम हस्तान्तरण गरेको हो । बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ ।