सिमरा — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा शिक्षाको गुणस्तर सुधारका लागि कम्तीमा १०० वटा विश्वस्तरीय माध्यमिक विद्यालय निर्माण गर्नुपर्ने बताएका छन्।
सिमरामा शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले आधुनिक पूर्वाधार र गुणस्तरीय शैक्षिक वातावरणसहितका नमुना विद्यालय निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए। उनका अनुसार प्रधानमन्त्रीसँगको छलफलमा पनि मधेशमा विश्वस्तरीय विद्यालय स्थापना गर्ने विषयमा सुझाव आएको छ। अहिले सञ्चालनमा रहेका विद्यालयलाई रूपान्तरण गर्ने वा आवश्यकताअनुसार नयाँ स्थानमा विद्यालय स्थापना गर्ने गरी विभिन्न मोडलमा काम गर्न सकिने उनले बताए।
‘मधेशमा कम्तीमा सय वटा वर्ल्ड क्लास स्कुल माध्यमिक तहसम्मको बनाउन सकिन्छ। अहिले चलिरहेका विद्यालयलाई रूपान्तरण गरेर वा अन्य ठाउँमा सारेर विभिन्न मोडलमा काम गर्न सकिन्छ,’ मन्त्री पोखरेलले भने, ‘दरबार हाइस्कुलजस्ता उत्कृष्ट विद्यालयहरू मधेशमा अझै धेरै आवश्यक छन्।’
विश्वस्तरीय विद्यालय निर्माण गर्दा विद्यार्थीले राम्रो वातावरणमा आधुनिक सुविधासहित अध्ययन गर्न पाउने व्यवस्था हुनुपर्ने उनले बताए। कतिपय स्थानमा शिक्षक–विद्यार्थी अनुपात नमिलेको तथा पर्याप्त भौतिक पूर्वाधार नभएको समस्या रहेको उल्लेख गर्दै उनले विद्यालय निर्माणमा भूगोल, उपलब्ध जग्गा र जनसंख्याको अवस्थालाई आधार बनाउनुपर्ने बताए।
मन्त्री पोखरेलले काठमाडौंमा मात्र गुणस्तरीय शिक्षाका अवसर केन्द्रित हुन नहुने बताए। मधेशका प्रत्येक जिल्ला र क्षेत्रमा विद्यार्थीले गुणस्तरीय तथा आधुनिक शिक्षा पाउने वातावरण निर्माण गर्न सरकार लागिरहेको उनको भनाइ थियो।
‘ग्राउन्डको वास्तविक अवस्था र आवश्यकता बुझेर मात्रै शैक्षिक पूर्वाधारको विकास गर्नुपर्छ,’ उनले भने, ‘मधेशमा शिक्षाको गुणात्मक छलाङका लागि नमुना र सुविधासम्पन्न विद्यालय निर्माण आवश्यक छ।’
मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
Advertisement
तपाईको प्रतिक्रिया