दाङ — दाङको देउखुरीमा यात्रुवाहक बस र अटो आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगर छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका–३ मजगाउँ चोकमा सोमबार दुर्घटना भएको हो । प्युठानबाट लमही बजार आएर फर्किँदै गरेको लु.प्र.०२–००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको यात्रुवाहक बस ठोक्किएका हुन् ।
प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा अटो विपरीत दिशाबाट तीव्र गतिमा आउँदै गरेको बससँग ठोक्किएको थियो ।
दुर्घटनामा अटो चालक सरुमारानी–५ पाखापानीका जीतबहादुर पल्ली मगर, सोही ठाउँकी सङ्गिता सोमै मगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन् ।
घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
Advertisement
तपाईको प्रतिक्रिया