काठमाडौं । नेपाली कांग्रेसले यसैपटक सिर्जना गरेको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन् ।
मंगलबार भएको मनोनयनमा वरिष्ठ उपसभापति पदमा शर्माको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । शर्मा १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए । गत पुसमा भएको विशेष महाधिवेशनबाट उनी उपसभापति बनेका थिए ।
१४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार थिए । त्यतिबेला शेखर कोइराला प्यानलबाट गगन थापा महामन्त्री निर्वाचित भएका थिए । शर्मा र थापाकै अग्रसरतामा गत पुसमा विशेष महाधिवेशन भएको थियो । उक्त महाधिवेशनबाट सभापति बनेका थापा अहिले पनि सभापति पदका उम्मेदवार छन् ।
शर्मा र थापा दुवै विद्यार्थी राजनीतिबाट पार्टीको नेतृत्वमा आएका हुन् । १४औँ महाधिवेशनमा उनीहरूलाई फरक–फरक प्यानलबाट अघि सारेका प्रकाशमान सिंह र शेखर कोइराला भने विशेष महाधिवेशनमा सहभागी भएनन् ।
सिंह अहिले पूर्वसभापति शेरबहादुर देउवा समूहसँग रहेर समानान्तर महाधिवेशनको तयारीमा छन् भने कोइराला तटस्थ भूमिकामा छन् । झापाका शर्मा २०४१ सालमा नेविसंघको विद्यालय इकाइ समिति अध्यक्ष बनेका थिए । २०४५ सालसम्म मेची क्याम्पस इकाइ अध्यक्ष रहेका उनी नेविसंघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र महामन्त्री हुँदै २०५७ सालमा केन्द्रीय अध्यक्ष बने । नेविसंघको अध्यक्ष हुँदा गगन थापा उनका उपाध्यक्ष थिए । कांग्रेसको १३औँ महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले शर्मालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका थिए । शर्मा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा–१ बाट निर्वाचित भएका थिए । त्यसअघि २०७० र २०७४ सालमा सोही क्षेत्रबाट उम्मेदवार बने पनि उनी पराजित भएका थिए । गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा भने उनले उम्मेदवारी दिएनन् । शर्मा हालसम्म मन्त्री बनेका छैनन्।
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
Advertisement
तपाईको प्रतिक्रिया