काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् ।
महिला उपसभापति पदमा भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । गत पुसमा भएको विशेष महाधिवेशनबाट पनि भुसाल उपसभापतिमा निर्वाचित भएकी थिइन् ।
६५ वर्षीया भुसाल कांग्रेसमा उपसभापति बन्ने शैलजा आचार्यपछि दोस्रो महिला हुन् । महिला नेतृत्वमा आएपछि मात्रै समाज परिवर्तन सम्भव हुने धारणा राख्दै आएकी भुसाल लामो समयदेखि महिला अधिकार र समानताको पक्षमा सक्रिय छन् ।
अर्घाखाँचीको पोखराथोकमा २०१९ फागुन १ गते जन्मिएकी भुसालको पारिवारिक पृष्ठभूमि पनि राजनीतिसँग जोडिएको छ । उनका बुबा काशीनाथ गौतम बीपी कोइराला नेतृत्वको २०१५ सालको सरकारमा स्वास्थ्यमन्त्री थिए । २०१७ सालमा प्रजातन्त्र खोसिएपछि उनको परिवार १४ वर्ष भारतमा बसेको थियो ।
भारत बसाइका क्रममा बुबाबाट प्रभावित भएर राजनीतिमा चासो राखेकी भुसाल २०२८ सालदेखि सक्रिय राजनीतिमा जोडिइन् । २०३६ सालमा उनी नेपाल विद्यार्थी संघको सदस्य बनेकी थिइन् ।
लामो समय अध्यापन र वकालतमा बिताएकी भुसालले नेपालको संविधान निर्माण प्रक्रियामा समेत भूमिका निर्वाह गरेकी छन् । उनी २०६३ सालको अन्तरिम संविधान मस्यौदा समिति र २०६४ सालको संविधान मस्यौदा समितिमा सदस्य थिइन् ।
नेपाल बार एसोसिएसनकी केन्द्रीय सदस्य, ट्रेड युनियन कांग्रेसकी सल्लाहकार, कांग्रेसको कानुनी सल्लाहकार समिति तथा महिला विभाग सदस्य हुँदै भुसाल नेपाल महिला संघको दुई कार्यकाल महासचिवसमेत भइन् ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा अर्घाखाँची–२ बाट निर्वाचित भुसाल २०७४ सालमा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
Advertisement
तपाईको प्रतिक्रिया