नवलपरासी पूर्व — नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस शुक्रबार राति सडकबाट नालामा खसेको प्रहरीले जनाएको छ। चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
प्रहरीका अनुसार बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका र दुई जना सकुशल रहेका छन्। मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्रै पहिचान खुलेको छ। अन्य पाँच जनाको पहिचान खुल्न बाँकी छ।
घाइते हुनेमा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछामको मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृती, बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढा, बर्दियाको राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु, बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुरको कुञ्जय सोमपाक गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दियाको बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी छन्।
दुर्घटना लगत्तै प्रहरी निरीक्षक थमन सिंह रानाको कमान्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो। घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
Advertisement
तपाईको प्रतिक्रिया