गुल्मी । जिल्लाका चार स्थानीय तहका विभिन्न क्षेत्रमा आज दिनभर विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका अनुसार उनायचौर–किसानटारी ३३ केभी प्रसारण लाइन आसपासका रुखका हाँगा काट्ने कामका लागि विद्युत् सेवा बन्द गर्न लागिएको हो ।
मालिका, मदाने, धुर्कोट र इस्मा गाउँपालिकाका विभिन्न क्षेत्रमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।
प्रसारण लाइनको सुरक्षित सञ्चालन तथा सम्भावित जोखिम न्यूनीकरणका लागि रुखका हाँगा काट्ने र आवश्यक मर्मतसम्भारको काम गरिने जनाइएको छ ।
तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार छिट्टै पुनः सञ्चालनमा ल्याइने वितरण केन्द्रले जनाएको छ।
Advertisement