प्युठान। प्युठान माण्डबी गाउँपालिका-५, रम्दीकोटका पुँवार खड्काहरूले नेपाली सेनामा पुर्याएको योगदान राज्यले बेवास्ता गरेको गुनासो गरेका छन्।
सन १९१४ को अक्टोबर २४ देखि नोभेम्बर ३० सम्म कप्तान बलभद्र कुँवरको नेतृत्वमा अंग्रेज फौजसँग नालापानी किल्लामा लडेका कम्पनी कमान्डर दयाराम खड्काको योगदान आजसम्म राज्यले उचित कदर नगरेको स्थानीयहरूको भनाइ छ। युद्धमा प्रयोग भएका तरवार, ढाल, खड्ग, छुरीजस्ता हतियारहरू आज पनि स्थानीयहरूले जतनसाथ संरक्षण गर्दै आएका छन्। स्थानीय इतिहास अनुसन्धानकर्ता वेदबहादुर खड्काले ‘रम्दीकोटे पुँवार खड्का वंशावली’ तयार गर्दै खड्काहरूको योगदानको दस्तावेजीकरण गरेका छन्। साथै, इतिहास संरक्षणका लागि ‘रम्दीकोटे पुँवार खड्का संरक्षण समिति’ गठन गरी अभियान चलाइरहेको छ।
समितिको निमन्त्रणामा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे आइतबार रम्दीकोट पुगेर दयाराम खड्काको जन्मथलो, युद्धकालीन हतियार र करिब २५० वर्ष पुरानो कालिका मन्दिरको अवलोकन गर्नुभयो। उपाध्यक्ष घिमिरेले नालापानी युद्धमा स्वर्गीय दयाराम खड्काले देखाएको वीरता गौरवको विषय भएको बताउँदै राज्यले उहाँको योगदानको कदर गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यो इतिहासलाई सबै तहमा जानकारी गराउन र प्रतिष्ठान स्थापना गरी अभियान अघि बढाउन जरुरी छ।”
रम्दीकोटमा आज पनि दयाराम खड्काले प्रयोग गरेका तरवार र ढाललाई दशैंघरमा कोत पूजाको रूपमा पूज्ने परम्परा जीवित छ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तुलसीराम शर्मा, माण्डबी गाउँपालिका अध्यक्ष नवराज अधिकारी, स्मृति समाज अध्यक्ष कमलबहादुर खड्का र सचिव मानबहादुर खड्काले पनि राज्यले वीर योद्धाको योगदानको उचित सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
नालापानीका नायक : प्युठानका वीर दयाराम खड्काको योगदान ओझेलमा
नालापानीका नायक : प्युठानका वीर दयाराम खड्काको योगदान ओझेलमा

Advertisement
तपाईको प्रतिक्रिया