कर्णाली । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने भएको छ । प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा आयोजना हुनेछ । प्रतियोगिताको तयारीलाई तीव्रता दिँदै मूल आयोजक समितिले पूर्वतयारी, व्यवस्थापन र सञ्चालनका काम अघि बढाउन कार्यसम्पादन समितिलाई निर्देशन दिएको छ । दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । प्रतियोगितामा ३२ खेल विधा समावेश गरिनेछ ।
बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतियोगिता नहुने वा सर्नेबारे कुनै दुविधा नराख्न आग्रह गरे । उनले दसौँ राष्ट्रिय खेलकुदको उत्सव आजैदेखि सुरु भएको बताए । ‘दसौँ राष्ट्रिय खेलकुद हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नुहोला,’ उनले भने, ‘दसौँ राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो । प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो ।’
मन्त्री पोखरेलले विगतका राष्ट्रिय खेलकुद प्रतियोगिताभन्दा यसपटकको आयोजना प्रभावकारी हुने दाबी गरे । प्रतियोगिता सफल बनाउन संघीय, प्रदेश र स्थानीय सरकारसहित सबै सरोकारवाला मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले मूल आयोजक समितिको बैठकले दसौँ राष्ट्रिय खेलकुद हुने सुनिश्चितता गरेको बताए । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेपछि कर्णाली प्रदेश ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न सक्षम छ भन्ने सन्देश जाने उनको भनाइ छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले निर्धारित समयमै प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको बताए । प्रतियोगितामा निजी क्षेत्र, संघसंस्था तथा अन्य सरोकारवाला निकायको सहभागिता बढाउने तयारीसमेत गरिएको छ । सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअनुसार सम्भावित प्रायोजकसँग समझदारीपत्र (एमओयू) गरेर कार्यक्रम कार्यान्वयन गर्ने निर्णय भएको छ ।
यसैगरी राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ अनुसार विभिन्न विषयगत उपसमिति गठन गरिनेछ । दसौँ राष्ट्रिय खेलकुदसँगै पहिलोपटक आयोजना हुने प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका कामसमेत अघि बढाइने भएको छ ।
स्थानीय तहदेखि खेल प्रतिभाको खोजी, पहिचान र उत्पादन गर्ने उद्देश्यले प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक कर्णालीमा हुन लागेको हो ।
दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
Advertisement
तपाईको प्रतिक्रिया