घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा प्रतिस्पर्धामा रहेको स्वतन्त्र युवा व्यावसायिक प्यानलले संघका तर्फबाट व्यापारिक मेला तथा महोत्सव आयोजना नगर्ने प्रतिबद्धता जनाएको छ। प्यानलले व्यवसायीको हित, संस्थागत सुधार र जिल्लाको आर्थिक विकासलाई प्राथमिकतामा राखेर प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।
असोज २४ गते हुने निर्वाचनलाई लक्षित गर्दै मंगलबार सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा संघको आर्थिक तथा संस्थागत अवस्थालाई पारदर्शी बनाउन श्वेतपत्र जारी गर्ने उल्लेख छ । घोराहीसहित समग्र दाङको आर्थिक विकासका लागि बृहत् आर्थिक मार्गचित्र तयार गरी कार्यान्वयनमा लैजाने प्यानलको योजना छ । अध्यक्षका उम्मेदवार अनिल आचार्यले प्रतिबद्धतापत्रको डिजिटल प्रति सार्वजनिक गरेका थिए । वरिष्ठ उपाध्यक्षका उम्मेदवार शरदप्रसाद अधिकारीले प्रतिबद्धतापत्र प्रस्तुत गरेका थिए । त्यसमा संस्थागत सुधार तथा नीतिगत पहल, व्यवसायिक हित तथा सुरक्षा, औद्योगिक पूर्वाधार र स्थानीय अर्थतन्त्र, लगानी प्रवर्द्धन तथा नीतिगत पैरवी र समसामयिक विषयलाई प्राथमिकतामा राखिएको छ । प्रदेश राजधानीसमेत दाङमा रहेकाले प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसँग समन्वय गरी जिल्लाको आर्थिक विकासका लागि ठोस योजना अघि बढाउने प्यानलले जनाएको छ । जिल्लाका उद्योग वाणिज्य संघ, पूर्वअध्यक्ष तथा व्यावसायिक नेतृत्वबीच नियमित संवाद गरी आर्थिक सम्भावनाका नयाँ क्षेत्र पहिचान गर्ने योजना पनि अघि सारिएको छ । व्यवसायीका समस्या तत्काल सम्बोधन गर्न हेल्पडेस्क स्थापना गर्ने, साना व्यवसायीको संरक्षण तथा ठूला व्यवसायीलाई प्रोत्साहन गर्ने र खुद्रा तथा साना व्यवसायीलाई संगठित गरी व्यवसाय विस्तारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता प्यानलको छ ।
परम्परागत व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्न क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने, नापतौल, मूल्य तथा गुणस्तर अनुगमनलाई सहज र पारदर्शी बनाउने तथा व्यवसायी र उपभोक्ताबीच नियमित अन्तरक्रिया गर्ने योजना पनि प्रतिबद्धतापत्रमा समेटिएको छ ।
दाङमा सञ्चालित इँटा उद्योगलगायत उत्पादनमूलक उद्योगका समस्या समाधानका लागि सरकार तथा स्थानीय तहसँग समन्वय गर्ने प्यानलले जनाएको छ । जिल्लामा औद्योगिक क्षेत्र स्थापना, बजार व्यवस्थापन तथा सडक र यातायात सञ्जाल विस्तारका लागि पहल गर्ने प्रतिबद्धता पनि छ । टरिगाउँ विमानस्थलको नियमित सञ्चालन तथा स्तरोन्नतिका लागि निर्णायक पहल गर्ने, घोराहीलगायत प्रमुख बजारमा रात्रिकालीन व्यवसाय प्रवर्द्धनका लागि आवश्यक सुरक्षा तथा पूर्वाधारको व्यवस्था गर्न पहल गर्ने प्यानलको योजना छ । व्यवसायीलाई वित्तीय पहुँच सहज बनाउन बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्ने र चर्को ब्याजदर, प्रिमियम वृद्धि तथा तरलता अभावका विषयमा नेपाल राष्ट्र बैंकसँग नीतिगत पैरवी गर्ने प्रतिबद्धता प्यानलले जनाएको छ । व्यवसाय दर्ता, नवीकरण, कर तथा राजस्व परामर्श र व्यावसायिक इजाजतपत्रका काममा सहजीकरण गर्न संघमार्फत एकद्वार सेवा सञ्चालन गर्ने प्रस्ताव पनि गरिएको छ । नापतौल तथा गुणस्तर परीक्षणसम्बन्धी सेवा जिल्लामै सहज रूपमा उपलब्ध गराउन पहल गर्ने प्यानलको भनाइ छ । कोभिडपछिको आर्थिक मन्दी, उच्च ब्याजदर तथा प्राकृतिक विपद्बाट प्रभावित साना तथा मझौला व्यवसायीका लागि राहत, कर छुट र ऋण पुनर्संरचनाको माग सरकार तथा राष्ट्र बैंकसमक्ष राख्ने प्यानलले जनाएको छ ।
दाङको कृषि तथा जडीबुटी उत्पादनलाई उद्योगसँग जोड्न कृषि प्रशोधन केन्द्र र शीतभण्डार निर्माण तथा सञ्चालनमा निजी–सरकारी साझेदारी गर्ने, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्ने र युवा तथा महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा, स्टार्टअप सहयोग, तालिम तथा बजारीकरणका कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ । व्यवसायिक हितमा प्रतिकूल असर पर्ने गरी मेला तथा महोत्सव सञ्चालन नगर्ने नीति लिने प्यानलले जनाएको छ । ‘सुरक्षित व्यवसाय, सबल पूर्वाधार र पारदर्शी नेतृत्व–समृद्ध दाङको बलियो आधार’ भन्ने संकल्पसहित प्यानल निर्वाचनमा होमिएको हो । स्वतन्त्र युवा व्यावसायिक प्यानलबाट अध्यक्षमा अनिल आचार्य, वरिष्ठ उपाध्यक्षमा शरद अधिकारी, सचिवमा गणेश पाण्डेय, सहकोषाध्यक्षमा ललित बेल्बासे र सदस्यमा तिलकबहादुर वली उम्मेदवार छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असोज २४ गते निर्वाचन हुँदैछ ।
व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
Advertisement
तपाईको प्रतिक्रिया