बुटवल । नेपाली कांग्रेस प्यूठानका जिल्ला सभापति विष्णु गिरीले आगामी अधिवेशनपछि शिवराज रिजालले पार्टीको नेतृत्व सम्हाल्ने घोषणा गरेका छन् । क्षेत्रीय तथा जिल्ला अधिवेशन हुन बाँकी रहेकै अवस्थामा गिरीले रिजालको नाम सार्वजनिक गरेपछि कांग्रेस प्यूठानमा बहस र असन्तुष्टि देखिएको छ ।
गिरीले पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गर्दै आफूलाई सहयोग गर्ने सम्पूर्ण पार्टी पंक्तिप्रति आभार व्यक्त गर्दै भनेका छन्, ‘आसन्न अधिवेशन पश्चात् पार्टीका नेता श्री शिवराज रिजालले नयाँ नेतृत्वको बागडोर सम्हाल्नुहुनेछ ।’
कांग्रेसको विधानअनुसार अधिवेशनबाट प्रतिनिधिहरूमार्फत नेतृत्व चयन हुने भए पनि प्रक्रिया पूरा हुनुअघि नै भावी सभापतिको नाम घोषणा गरिएपछि नेताहरूले प्रश्न उठाएका छन् । कांग्रेस प्यूठानका एक नेताले भने, ‘वडा र पालिकाको अधिवेशन सकिए पनि क्षेत्र र जिल्लाको अधिवेशन बाँकी नै छ । यस्तो अवस्थामा सामाजिक सञ्जालमार्फत नेतृत्व हस्तान्तरण घोषणा गर्नु कस्तो लोकतान्त्रिक प्रक्रिया हो ?’
गिरी र रिजाल यसअघि आमनेसामने
१४औँ महाधिवेशनमा प्यूठान कांग्रेसको जिल्ला सभापतिका लागि विष्णु गिरी र शिवराज रिजालबीच प्रतिस्पर्धा भएको थियो । गिरी सभापतिमा निर्वाचित भएका थिए ।
निर्वाचनका क्रममा विवाद चर्किएपछि गोलीसमेत चलेको थियो । मतगणनाका क्रममा रिजाल पक्षधरले मतपत्र च्यात्ने प्रयास गरेको कांग्रेसका नेताहरूको भनाइ छ ।
यसअघि कांग्रेस नेता रोज राणानिकट रहेका रिजाल पछिल्लो समय राणासँग दूरी बढेपछि नयाँ राजनीतिक समीकरणको खोजीमा रहेको कांग्रेसका केही नेताहरूको दाबी छ । गिरीले रिजाललाई आगामी नेतृत्वका रूपमा अघि सारेपछि यसलाई आफ्नो समूहमा रिजाललाई समेट्ने प्रयासका रूपमा कतिपय नेताले व्याख्या गरेका छन् ।
पुनको उम्मेदवारी
उता,गिरीले रिजाललाई नेतृत्व सुम्पिने बिज्ञप्ती जारी गरे लगत्तै यामलाल पुन मगरले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । गिरीले रिजाललाई नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरे पनि पुनले उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।
‘विज्ञप्ति जारी गर्दैमा लोकतान्त्रिक पार्टीमा कसैलाई टीका लगाएर नेतृत्व दिने कुरा हुँदैन, म चुनावी मैदानमा जान्छु,’ पुनले भने ।
उनका अनुसार उनी नयाँ योजना र विकासका एजेन्डासहित चुनावी तयारीमा छन् ।
कांग्रेस केन्द्रको कार्यतालिकाअनुसार प्यूठानका ६४ वटै वडा र नौवटै पालिकामा नेतृत्व चयन प्रक्रिया सम्पन्न भइसकेको छ । तर, कांग्रेसको अर्को पक्षले ती अधिवेशन बहिष्कार गर्दै असोज १५ गतेदेखि छुट्टै वडा अधिवेशन गर्ने तयारी गरेको छ ।
क्षेत्रीय तथा जिल्ला अधिवेशनअघि नै नेतृत्व हस्तान्तरणको घोषणा भएपछि प्यूठान कांग्रेसको आगामी अधिवेशन थप पेचिलो बन्ने देखिएको छ ।
इतर पक्षको छुट्टै अधिवेशन तयारी
कांग्रेस केन्द्रको कार्यतालिकाअनुसार प्यूठानका ६४ वटै वडामा वडा अधिवेशन र नौवटै पालिकामा नेतृत्व चयन प्रक्रिया सम्पन्न भइसकेको छ । तर, कांग्रेसको इतर पक्षले हालको अधिवेशन प्रक्रिया बहिष्कार गर्दै छुट्टै अधिवेशनको तयारी गरेको छ ।
इतर पक्षको बहिष्कारमा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रोज राणासहित जिल्लाका प्रभावशाली नेता तथा निर्वाचित जनप्रतिनिधि सहभागी छन् । पार्टीभित्रको आन्तरिक विवाद तथा कानुनी प्रक्रिया टुंगो नलागेसम्म हालको अधिवेशन प्रक्रियामा सहभागी नहुने उनीहरूको निर्णय छ ।
अधिवेशन प्रक्रियाबाट अलग रहनेमा पूर्वपार्टी सभापति तथा पूर्वसांसद मुक्तिप्रसाद शर्मा, रोज राणा, युवा नेता खिमानसिंह रायमाझी, जिल्ला उपसभापति ईश्वरसिंह विष्ट, जिल्ला उपसभापति एवं प्यूठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मा, जिल्ला कोषाध्यक्ष दीपक केसी र जिल्ला सहसचिव एवं झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेललगायत छन् ।
त्यस्तै, प्यूठान नगर सभापति एवं प्यूठान नगरपालिका–७ का वडाध्यक्ष नेत्र केसी, मल्लरानी–४ का वडाध्यक्ष कुमार श्रेष्ठ, मल्लरानी–५ का वडाध्यक्ष गोपाल थापा, महाधिवेशन प्रतिनिधि एवं नौबहिनी गाउँपालिका सभापति देविराम पुन, जिल्ला सदस्य खगेश्वर थापा र मित्र मल्ल तथा नेपाल तरुण दल प्यूठानका अध्यक्ष कृष्णप्रसाद बस्याल पनि अधिवेशन प्रक्रियाबाट अलग छन् ।
इतर पक्षले हालको अधिवेशन प्रक्रियालाई चुनौती दिँदै छुट्टै निर्वाचन तालिकासमेत सार्वजनिक गरेको छ । सोही पक्षले जिल्ला उपसभापति ईश्वरसिंह विष्टलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको छ ।