गोरखा । अविरल बर्षापछिको पहिरोले गण्डकी प्रदेशका बिभिन्न जिल्लामा ठुलो क्षती पुर्याएको छ ।
पहिरोले अहिलेसम्म कास्की,लमजुङ,म्याग्दी लगायतका जिल्लामा ९ जनाको ज्यान गएको छ भने १० जना बेपत्ता भएका छन।पहिरोमा परी कास्कीमा मात्रै मृतकको संख्या ६ पुगेको छ भने कम्तीमा १ जना बेपत्ता रहेको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवनराम श्रेष्ठले बताए । राति करिब पौने ३ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घर पहिरामा पर्दा सो घरमा सुतेका मध्ये ५ जनाको मृत्यु भएको छ । घटनामा परी घाइते भएका अन्य ८ जना घाइते छन् ।त्यसैगरी पोखरा–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा उनकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै पोखरा – २६ मा पनि एउटा घर पहिरोले पुरेको खबर छ । उक्त घरमा एक जना पुरिएको भन्ने खबर आएको जानकारी दिँदै एसपी श्रेष्ठले घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र पहिरो जाने क्रम जारी रहेकाले खोजी कार्य प्रभावित भएको बताएका छन् ।त्यस्तै पोखरा–१७ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन्। लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा बिहीबार राती पहिरोले घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।स्थानीय दीपक तामाङको घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको लमजुङका डिएसी गंगाबहादुर थापाले जानकारी दिए ।उनका अनुसार घरमुली दीपक तामाङ,पत्नी बिमाया तामाङ र छोरा सेवाङ तामाङको मृत्यु भएको हो । परिवारका ३ जना सामान्य घाइते भएका छन् । घाइते ३ जनाको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
लगातारको वर्षासँगै म्याग्दीको विभिन्न ठाउँमा पहिरो जाँदा शुक्रबार ९ जना बेपत्ता भएका छन् । ५ वटा घर पहिरोले बगाएको छ । धवलागिरी गाउपालिका–६ मराङको रिखामा ७ जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले २ परिवारका ७ जना बेपत्ता भएका मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा ३ जना थिए ।
माेहसिन अलि मियाँ/ सिभिल खबर