रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रोल्पाका निवर्तमान जिल्ला सभापति तथा संस्थापक रमेश थापाले राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। पार्टीको सुरुवाती चरणदेखि नै संगठन निर्माणमा सक्रिय रहेका इन्जिनियर थापाले सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक यात्रा अन्त्य भएको बताएका हुन्।
‘आजबाट मेरो राजनीतिक यात्रा यहीँ अन्त्य गर्दछु। अब कुनै राजनीतिक पद, दल वा जिम्मेवारीमा होइन—आफ्नो पेसा, सामाजिक सेवा र कर्ममै पूर्ण रूपमा समर्पित रहनेछु,’ थापाले फेसबुकमा लेखेका छन्।
राजनीतिबाट अलग हुने निर्णयको कारण उनले सार्वजनिक रूपमा विस्तृत खुलाएका छैनन्। यद्यपि, प्रदेशमा पदाधिकारी र पार्टीको केन्द्रीय समितिमा रहने चाहना राखेका उनी केन्द्रीय सदस्यमा नपरेपछि असन्तुष्ट बनेको बताइएको छ।
रोल्पामा कठिन परिस्थितिबीच रास्वपाको संगठन विस्तारमा योगदान दिएका थापाले गत निर्वाचनमा पार्टीलाई जिल्लामा दोस्रो स्थानमा पुर्याएका थिए। संगठन निर्माणमा सक्रिय रहेका उनको बहिर्गमनलाई पार्टीको नेतृत्व छनोट र संगठन सञ्चालनको शैलीसँग जोडेर हेरिएको छ।
यसैबीच, रास्वपाले रोल्पामा संगठनात्मक जिम्मेवारीका लागि पूर्वप्रहरी अधिकारी विक्रमसिंह थापालाई पठाएको छ। रमेश थापाको बहिर्गमनपछि जिल्लामा पार्टीको संगठन कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।
रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
Advertisement
तपाईको प्रतिक्रिया