पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा १४ जना घाइते भएका छन्।
कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो। बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पुर्याइएकोमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा करिब १२–१४ वर्ष उमेरका चार बालबालिका र पोखरा महानगरपालिका–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारी छन्। मृतक बालबालिकामध्ये ममता तिवारी र अशिम कँडेलको पहिचान खुलेको छ। अन्य दुई बालिकाको नामथर खुल्न सकेको छैन। दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।
दुर्घटनामा घाइते भएकाहरूमा अधिकांश विद्यार्थी छन्। बसका चालक तुलबहादुर गुरुङ पनि घाइते भएका छन्। उद्धारका क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएका छन्। उनको गण्डकी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
Advertisement
तपाईको प्रतिक्रिया