काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग भएको घोषणा गर्दै ‘समाजवादी जागरण अभियान’ सुरु गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यले अभियान सुरु गरेको बताए ।
खनालको नेतृत्वमा शनिबार बसेको भेलाले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त भेलाले गरेका निर्णय तथा अभियानका उद्देश्य सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । अभियानको पहिलो भेलाले १५ वटा प्रस्तावसमेत पारित गरेको खनालले जानकारी दिए । पत्रकार सम्मेलनमा खनालले नेकपा गठन हुँदाको अवस्थालाई स्मरण गर्दै आफू पार्टी गठन हुँदा सबैभन्दा बढी खुसी भएको बताए । नेकपाले देशमा ठूलो परिवर्तन ल्याउने र जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने अपेक्षा आफूले गरेको उनको भनाइ थियो ।
‘नेकपा गठन हुँदा सबैभन्दा धेरै म नै खुसी थिएँ । यो पार्टीले कायापलट नै गर्छ कि भन्ने लागेको थियो,’ उनले भने, ‘पार्टी निर्माण गर्दा जसरी जनतालाई भन्दै आएका थियौँ, त्यो पूरा हुन्छ कि भन्ने आशा थियो ।’
तर पार्टीले जनअपेक्षाअनुसार काम गर्न नसकेको खनालले बताए । दुई तिहाइ बहुमत प्राप्त संसद् विघटन गर्ने अवस्थासम्म पुगेको उल्लेख गर्दै उनले त्यसपछि पनि पार्टीले जनमुखी नीति तथा कार्यक्रम लागू गर्न नसकेको बताए ।
‘हेर्दाहेर्दै दुई तिहाइ बहुमत भएको संसद्समेत विघटन गर्ने बेला आयो,’ उनले भने, ‘त्यसपछि पनि पार्टीले जसरी जनमुखी भएर नीति कार्यक्रम लागू गर्नुपर्ने थियो, त्यो नहुँदा पार्टी विस्तारै जनताबाट अलग हुँदै गयो ।’ जनतासँगको सम्बन्ध कमजोर हुँदै गएपछि पार्टीले पराजय व्यहोर्नुपरेको उनको भनाइ थियो ।
खनालले अब समाजवादमा जानुको विकल्प नरहेको भन्दै सबै वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउनुपर्ने बताए । ‘अब समाजवादमा जानुको अर्को विकल्प छैन । त्यसैले समाजवादी जागरण अभियान सञ्चालन गरेर सम्पूर्ण वामपन्थीलाई एक ठाउँमा ल्याउनुपर्छ भनेर यो अभियान सुरु गर्न लागेका हौँ,’ उनले भने ।
उनले अभियान देशका सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्ने उद्देश्यले सुरु गरिएको बताए । अहिले हावी भएको ‘दक्षिणपन्थी भड्काउ’बाट मुक्त गर्न पनि अभियान आवश्यक रहेको उनको भनाइ थियो ।
‘अभियान देशका समस्त कम्युनिस्टहरूलाई एकताबद्ध गर्नका लागि हो । अहिले हावी भएको दक्षिणपन्थी भड्काउबाट मुक्त गर्नका लागि सुरु गरेको हो,’ उनले भने । अभियानले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न भूमिका खेल्ने दाबी गर्दै खनालले कम्युनिस्ट आन्दोलन एकीकृत भएपछि मात्रै अभियानको उद्देश्य पूरा हुने बताए ।
‘यो अभियानले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर मात्र विसर्जित हुन्छ,’ उनले भने ।
झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
Advertisement
तपाईको प्रतिक्रिया