काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित केन्द्रीय उम्मेदवार छनोट समितिमा सात सदस्य मनोनयन गरिएको छ।
रास्वपाको शनिबार बसेको केन्द्रीय समिति बैठकले मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामीलाई समितिको सदस्य मनोनयन गरेको हो। सातै प्रदेशका सभापति समितिको पदेन सदस्य रहने निर्णय नि बैठकले गरेको छ।
सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुख पनि तोकेको छ। प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य र सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुबिना आचार्यलाई जिम्मेवारी दिइएको छ।
यस्तै, सुशासन तथा राज्य व्यवस्था विभागको प्रमुखमा सुदीप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपक कुमार साह र आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाललाई जिम्मेवारी दिइएको छ।
विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी र सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मा चयन भएका छन्। संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागको सदस्यमा सम्राट बुढाथोकीलाई मनोनयन गरिएको छ।
बैठकले अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लिश्वर कार्की (रोहन) लाई जिम्मेवारी दिएको छ।
७७ जिल्लाका ७५३ पालिकामा पुग्ने
रास्वपाले असोज २० देखि २७ गतेसम्म ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य र सांसदहरू ७७ जिल्लाका ७५३ पालिकासम्म पुग्नेछन्।
उनीहरूले नागरिक, पार्टीका सदस्य तथा विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव संकलन गर्ने रास्वपाले जनाएको छ। बैठकले सबै केन्द्रीय सदस्य तथा सांसदलाई अभियानमा अनिवार्य रूपमा परिचालित हुन निर्देशन दिएको छ।
मधेस प्रदेश संगठनको समस्या र समाधानबारे सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन पनि बैठकमा पेस गरिएको छ। कार्यदलले प्रतिवेदन सभापति लामिछानेलाई बुझाएको र त्यसको अध्ययनपछि आवश्यक निर्णय लिइने रास्वपाले जनाएको छ।
यसैगरी, काठमाडौं उपत्यकामा पार्टीको केन्द्रीय कार्यालयका लागि जमिन वा घर खरिद गर्न उपयुक्त स्थान खोज्न सदस्य तथा शुभेच्छुकलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ।