प्यूठान– प्युठानमा उम्मेदवारमाथिको उजुरी नै परेको छैन। स्थानीय तहको उम्मेदवार बन्न आइतवार र सोमबार उम्मेदवारी दर्ता गराएका प्यूठानका ९ सय ८८ उम्मेदवार विरुद्ध कुनैपनि उजुरी नपरेको हो ।
उजुरीका लागि मंगलबार दिनभरको समय छुट्टयाएकोमा जिल्लाका नौ पालिकाका कहि पनि उजुरी नपरेको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिए ।
यसपटक मनोनयन दर्ता कम्प्यूटर प्रणालीबाट गरिएकाले त्रुटि समेत नदेखिएको जिल्ला निर्वाचन कार्यालयले जनायो ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी थालिएको कार्यालयले बताएको छ।
प्युठानमा ३४३ जना जनप्रतिनिधी चयन गर्न विभिन्न दल तथा स्वतन्त्र गरी ९ सय ८८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
१ लाख ५९ हजार ३४६ जना मतदाता रहेको प्यूठानमा जिल्लाभरि गरी ३ सय ४३ जनप्रतिनिधि चयन गर्न २ सय २० मतदान केन्द्र र १ सय ५१ मतदान स्थल कायम गरिएको जिल्ला अदालत प्युठानका न्यायधिष एवं मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताए ।
कुन पदमा कति जनाले दिए उम्मेदवारी ?
निर्वाचन कार्यालयका अनुसार अध्यक्ष/प्रमुखका ४५ जना तथा उपप्रमुख/उपाध्यक्षमा ३१ जनाको मनोनयन परेको छ ।
यहाँ धेरैको आकर्षण वडाअध्यक्ष पदमा देखिएको छ ।
९ स्थानीय तहका ६४ वडामा दुई सय २२ जनाले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । यस्तै खुला सदस्यमा तीन सय ६२ जनाले मनोनयन दर्ता गराएका छन् । महिला र दलित महिला सदस्यमा एक सय ७० र एक सय ५८ जना प्रतिस्पर्धामा होमिएका छन् ।