काठमाडौ। कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि जापानको राजधानी टोकियोमा संकटकाल घोषणा गरिएको छ । जापान सरकारले बिहीबार एक महिना लामो संकटकाल घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।प्रधानमन्त्री योशिहिडा सुगाले संकटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि संकटकाल लगाउनु परेको बताए । अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको संकटकाल शुक्रबारदेखि लागु हुने पनि जनाइएको छ ।
संकटकालअन्तर्गत रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ विक्रि वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ । यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागु हुने अधिकारीहरुले बताएका छन् ।
प्रधानमन्त्री सुगाले बार तथा रेस्टुरेन्टमा नजान युवालाई विषेश अनुरोध गरेका छन् । टेकियोमा संक्रमित भएकाहरूको उमेर अवस्था हेर्दा आधाभन्दा बढी तीन दशकभन्दा कम उमेरका भएको पाइएकाले पनि प्रधानमन्त्री सुगाले युवालाई विषेश आग्रह गरेका हुन् ।’सरकारको आग्रहलाई कृपया पालना गरिदिनु होला, तपाईसँगै तपाईको बुवा आमा, हजुर बुवा हजुर आमा र साथीहरूको जीवन जोगाउनका लागि पनि यो आवश्यक छ,’ उनले भने ।
सरकारले टोकियोमा सकेसम्म क्रेताले फोनबाट माग गर्ने र विक्रेताले उनीहरूले माग गरेको ठाउँमा पुर्याइदिने व्यवस्था हुनेगरी मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।
जापानको राजधानी टोकियोमा दैनिक थप संक्रमितको संख्या बढ्दै जाने क्रममा बिहीबार दुई हजार ४४८ जना थपिएका छन । देशभरी सात हजार ४९० जना संक्रमित थपिएको पनि अधिकारीहरूले जनाएका छन् । जापानमा अहिलेसम्म तीन हजार ७०० भन्दा बढी कोरोना भाइरसबाट संक्रमित व्यक्तिको मृत्यु भएको छ ।