अर्घाखाँची ।जिल्लाको शीतगंगा नगरपालिका–१२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका १७ घर पहिरोले बगाएको छ। यद्धपी पहिरोले घर बगाएपनी कुनै मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए ।
‘पहिरो जाँदाजाँदै हो–हल्ला गरेर सबै दौडिएर जोगिन सफल भएका छन् ।’उनले भने ‘पहिरो जाँदा भागेर तितरवितर भएका कारण सबै सम्पर्कमा थिएनन्, हामीले खोजी गर्दा सबै सुरक्षित रहेछन्’, ।
१७ घर–गोठ क्षति भएर नष्ट भएका छन् । केही घर पुरिएका र केही ढलेका छन् । गोठमा पालिएका सबै चौपाया मरेको उनले बताए ।गाईभैंसी, बाख्रा, खसीबोका, कुखुरा लगायत घरपालुवा जनावर मरेका छन् । पहिरो आसपास क्षेत्रमा बस्ने १८ घर अति उच्च जोखिममा रहेकाले सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ । पानी परिरहेकाले पहिरो बग्ने क्रम भने रोकिएको छैन।
पहिरो स्थलमा सुरक्षाकर्मी, जनप्रतिनिधि, दलका नेता र स्थानीय गएका छन् । पहिरोबाट विस्थापित भएका घरपरिवारलाई खाने–बस्ने व्यवस्था नगरपालिकाले मिलाउने नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण पहिरो गएको उनले बताए ।