काठमाण्डाै – रेशम चौधरीलाई अस्पतालको शय्यामा नेल लगाउने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ ।
शुक्रबार वीर अस्पतालकाे ओछ्यानमै साङ्लोले बाँधिएको चौधरीको तस्बिर सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीको ध्यानाकर्षण भएको र शनिबार मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर त्यो काममा संलग्न सबै कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनु भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद चौधरीलाई अस्पतालकाे ओछ्यानमै फलामे साङ्लोले बाँध्ने कर्मचारीलाई कारबाही गर्न मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल फुकाउन समेत निर्देशन दिनुभएको छ ।
फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि चाैधरीलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएकाे थियाे । चाैधरीकाे उपचारमा सरकारले अमानवीय व्यवहार गरेकाे भन्दै चर्काे आलाेचना भएपछि प्रधानमन्त्री ओलीकाे यस्ताे निर्देशन आएकाे हाे ।
२०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । उहाँ १५ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहनु भएको छ । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो ।