गुल्मी । दसैँ–तिहारमा घर फर्किन नपाएका परदेशी नेपालीको पीडा समेटिएको गीत ‘दसैँ आयो तिहार आयो’ सार्वजनिक भएको छ ।
बिनय खत्री र शान्ति श्री परियारको स्वर रहेको गीतमा चाडपर्वका बेला घर–परिवारको सम्झनाले सताउने परदेशी नेपालीको भावनालाई प्रस्तुत गरिएको छ । परिवारसँग चाडपर्व मनाउने चाहना हुँदाहुँदै पनि विभिन्न बाध्यताका कारण परदेशमै बस्नुपर्ने अवस्थालाई गीतमा चित्रण गरिएको छ ।घरमा आफन्तहरू दसैँ–तिहारको तयारीमा जुटिरहेका बेला परदेशमा रहेका नेपालीले अनुभव गर्ने एक्लोपन, गाउँघरको सम्झना र परिवारसँग भेट्ने चाहनालाई गीतले भावुक ढंगले प्रस्तुत गरेको छ ।
होमनाथ कुँवरको शब्द तथा घनश्याम खत्रीको संगीत रहेको गीतलाई अनमोल बस्नेतले एरेन्ज गरेका हुन् । गीतको मिक्स तथा मास्टरिङ कुमार रानाले गरेका छन् । रेकर्डिङमा सुमन राना र कुमार रानाको सहभागिता छ ।
मारुनी डिजिटलमा रेकर्ड गरिएको गीतको भिडियोमा प्रकाश सपुत र जुना विश्वकर्माको अभिनय छ । भिडियोको निर्देशन सुनिल बीकेले गरेका छन् ।
गीतमा परदेशीको घर फर्किने चाहनासँगै उसलाई पर्खिएर बसेका परिवारको माया, आशा र प्रतीक्षालाई समेत प्रस्तुत गरिएको छ । चाडपर्वको खुसीसँगै परदेशी नेपालीको भावनात्मक कथालाई गीत र भिडियोमार्फत देखाउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।
गीतको पूरा भिडियो :