टेक बहादुर पुन,दाङ । जिल्लाको लमही नगरपालिका – ९ रिहार नजिक जन्ती चढेको स्कारपियो र वस एक आपसमा ठोक्किदा ६ जनाको ज्यान गएको छ। दुर्घटनामा २ जना घाइते भएका छन् । चितवन गितानगरबाट बाँकेको सम्शेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको वस ठोक्किएर दुर्घटना भएको हो ।दुलहाका बुवा,आमा र आफन्न चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
स्कारपियोमा सवार ८ जना मध्य ६ जनाको मृत्यु भएको छ । २ जना घाइतेको कोहलपुर उपचार भैरहेको छ । मृत्युु हुनेमा दुलाहाका बुवा आमा र आफन्त छन् । दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ बर्षिय मानबहादुर केसी, ४५ बर्षिय आमा विमला खत्री, ४९ बर्षिय बिश्वनाथ अधिकारी, ५ बर्षिय प्रविण केसी, ३१ बर्षिय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ बर्षिय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । उनीहरुको बाँकेको कोहलपुरमा उपचार भईरहेको छ ।मानबहादुर केसी र विमला खत्री बेहुलाका आमा-बुवा हुन् । दुलाही दुलही छुट्टै गाडीमा रहेको हुँदा उनीहरू भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। ‘आमा बुवासहित केही आफन्त अलि छिटो घर पुगेर जन्तीको लागि बन्दोबस्त गर्न जान खोजेको भन्ने खुलेको छ,’– सई पुरन मल्लले भने, ‘ त्यसैले दुलाही दुलहीको गाडी अलि पछाडि बिस्तारै जाँदै गरेका रहेछन्।’
दुर्घटनाको कारण भने थाहाँ नभएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। ‘तीव्र गतिको कारणले हो वा हुस्सुले बाटो नदिखिएर हो, त्यसवारे अहिले नै केही भन्न सक्ने अवस्था छैन ,’ सई मल्ले भने। बुवा-आमा र आफन्त चढेको जीप भने विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको हो । बसका यात्रुहरु भने सकुशल छन् ।
शवलाई पोष्ट्रमाटमका लागि लमही अस्पतालमा राखिएको छ ।