काठमाडौं — रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग गरेको छ।
प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरेको हो। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १५ करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो।
बाढीबाट रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएपछि प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। यही क्रममा प्राधिकरणले संस्थागत रूपमा १५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार संस्थागत सहयोगसँगै कर्मचारी तथा पदाधिकारीबाट समेत आर्थिक योगदान गर्ने निर्णय भएको छ। कर्मचारीको तलब तथा पदाधिकारीको पारिश्रमिक र बैठक भत्ताबाट उक्त योगदान गरिनेछ।
निर्णयअनुसार अधिकृत प्रथम श्रेणीका कर्मचारीले सुरु तलब स्केलको आठ दिन, द्वितीय श्रेणीले छ दिन र तृतीय श्रेणीले चार दिन बराबरको रकम योगदान गर्नेछन्। सहायकस्तरका कर्मचारीले दुई दिन र श्रेणीविहीन कर्मचारीले एक दिन बराबरको तलब योगदान गर्नेछन्।
त्यस्तै, प्राधिकरणका अध्यक्षले १० दिन बराबरको तलबसहित दुई बोर्ड बैठक भत्ता तथा बोर्ड सदस्यले दुई दिन बराबरको बोर्ड बैठक भत्ता योगदान गर्ने निर्णय भएको अर्यालले जानकारी दिनुभयो।
प्राधिकरणले बाढीबाट प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालन तथा पूर्वाधार पुनःस्थापनालाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। साथै, दूरसञ्चार सेवा प्रदायकलाई समेत विपद् व्यवस्थापनका लागि यथाशक्य सहयोग गर्न आग्रह गरेको छ।
भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
Advertisement
तपाईको प्रतिक्रिया