पोखरा । पोखरा विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट पारित गरेको छ ।
विश्वविद्यालयको २६औँ साधारण सभाले बजेटसँगै नीति तथा कार्यक्रमसमेत सर्वसम्मत पारित गरेको हो । विश्वविद्यालयले आगामी वर्ष शैक्षिक गुणस्तर सुधार, अनुसन्धान तथा नवप्रवर्तन, डिजिटल रूपान्तरण, पूर्वाधार विकास र रोजगारमुखी शिक्षालाई प्राथमिकतामा राखेको छ ।
पोखरा–३०, ढुंगेपाटनस्थित केन्द्रीय कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको सभाले उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र रजिस्ट्रार प्रा.डा. निर्मला जमरकट्टेलले प्रस्तुत गरेको बजेट स्वीकृत गरेको हो ।
सभाले मानविकी तथा सामाजिक शास्त्र संकाय पुनर्गठन गरी ‘मानविकी, सामाजिक शास्त्र तथा कानुन संकाय’ स्थापना गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि विश्वविद्यालयको विद्यमान नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरिएको छ ।
ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा विस्तार गरिएको निर्णयलाई पनि सभाले अनुमोदन गरेको छ । बीई मेकानिकल, बीआईसीए र बीबीए फाइनान्सलगायत विभिन्न कार्यक्रमको उपाधि निर्धारण तथा विशेष मौका परीक्षा सञ्चालन गर्नेसम्बन्धी प्रस्ताव पनि पारित भएको छ ।
सभालाई सम्बोधन गर्दै सहकुलपति पोखरेलले विश्वविद्यालयहरूले आफ्नो विशिष्टताका आधारमा पहिचान निर्माण गर्नुपर्ने बताए । गण्डकी प्रदेशको सम्भावनालाई ध्यानमा राखेर पोखरा विश्वविद्यालयले साहसिक पर्यटनलगायत नयाँ क्षेत्रमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
उनले परीक्षा र नतिजा समयमै प्रकाशन गर्न, छात्रवृत्ति वितरणमा पारदर्शिता कायम गर्न तथा विद्यार्थीबाट लिइने शुल्कअनुसार प्रयोगशाला, पुस्तकालयलगायत शैक्षिक सुविधा सुनिश्चित गर्न विश्वविद्यालय प्रशासनलाई निर्देशन दिए ।
विश्वविद्यालयले नयाँ नीति तथा कार्यक्रममार्फत डिजिटल सेवा विस्तारसँगै शैक्षिक तथा प्रशासनिक प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ ।
पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
Advertisement
तपाईको प्रतिक्रिया