गुल्मी । नेपाली कांग्रेसको राजनीतिमा तीन दशकदेखि सक्रिय हरिकुमार श्रेष्ठ यसपटक गुल्मी क्षेत्र नम्बर १ बाट जनजातितर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन्।
श्रेष्ठ २०५१ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय छन्। लामो राजनीतिक यात्रासँगै व्यवसाय र सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टी संगठन निर्माणमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको उनले बताएका छन्।
‘पद लिन होइन, पार्टीको माध्यमबाट समाजलाई केही दिन उम्मेदवार बनेको हुँ,’ श्रेष्ठले भने।
श्रेष्ठ अहिले कांग्रेस गुल्मीका जिल्ला सदस्य तथा निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष छन्। यसअघि उनी नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक सभापति र नेपाल प्रेस युनियन गुल्मीका पूर्वसभापति थिए। तम्घासमा रहेका विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थाको नेतृत्वसमेत उनले गरिसकेका छन्।
व्यवसायबाट प्राप्त व्यवस्थापनको अनुभव, सामाजिक सेवाका क्रममा बनेको जनसम्बन्ध र लामो राजनीतिक यात्राबाट हासिल गरेको अनुभवलाई पार्टी संगठनमा उपयोग गर्ने उनको भनाइ छ।
कांग्रेसले नयाँ पुस्ताको ऊर्जा र अग्रजको अनुभवलाई जोडेर आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने श्रेष्ठ बताउँछन्। आफू निर्वाचित भए जिल्ला र स्थानीय भूगोलमै रहेर कार्यकर्ता तथा नागरिकका सुख–दुःखमा जोडिँदै संगठनलाई बलियो बनाउन काम गर्ने उनको प्रतिबद्धता छ।
‘मेरो उद्देश्य पद प्राप्ति मात्र होइन,’ उनले भने, ‘गाउँघरमा तपाईँहरूसँगै रहेर राजनीति र समाजसेवालाई जोड्दै निरन्तर काम गर्नु हो।’
श्रेष्ठको उम्मेदवारीप्रति पत्रकारिता तथा सामाजिक क्षेत्रमा आबद्ध व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन्।