काठमाडौं । रसुवाको टिमुरेमा नेपाल टेलिकमको टेलिफोन टावर सञ्चालनका लागि १२ किलोवाट क्षमताको सोलार प्रणाली जडान गरिएको छ। भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि विद्युत् आपूर्ति अवरुद्ध हुँदा टिमुरेको टावर डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको थियो। टावर सञ्चालनका लागि आवश्यक डिजेलसमेत हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो।
विद्युत् सेवा लामो समय अवरुद्ध हुने भएपछि टेलिकमले टिमुरे–खैदीमा आवश्यक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत ढुवानी गरी सोलार प्रणाली जडान गरेको हो।
सोलार प्रणाली सञ्चालनमा आएसँगै टावरका लागि नियमित डिजेल ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ। विद्युत् आपूर्ति नभएको अवस्थामा पनि टिमुरे क्षेत्रमा टेलिकमको २जी तथा ४जी सेवा सञ्चालनमा राख्न सहज हुने टेलिकमले जनाएको छ।
भोटेकोशीको बाढीले रसुवासहित विभिन्न जिल्लाका दूरसञ्चार पूर्वाधार प्रभावित भएका थिए। विद्युत् आपूर्ति बन्द भएपछि टिमुरे क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालनका लागि जेनेरेटरमा निर्भर हुनुपरेको थियो।
सोलार प्रणाली जडानपछि टेलिफोन तथा मोबाइल इन्टरनेट सेवा सञ्चालनका लागि वैकल्पिक ऊर्जा उपलब्ध भएको छ। यसबाट स्थानीय बासिन्दा, यात्रु तथा सीमावर्ती क्षेत्रका सेवाग्राहीलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउन सहज हुने टेलिकमले जनाएको छ।
टिमुरेको टेलिफोन टावरमा सोलार जडान
टिमुरेको टेलिफोन टावरमा सोलार जडान
Advertisement
तपाईको प्रतिक्रिया