बुटवल — पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताएकी छन्।
मंगलबार बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै भण्डारीले उद्योगी–व्यवसायीसँग सरसल्लाह गरी यहाँका समस्या पहिचान र समाधानमा केन्द्रित हुनुपर्ने बताइन्।
लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा सडक पूर्वाधार निर्माण हुनु महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो। यी पूर्वाधार निर्माणपछि अन्तर्राष्ट्रिय रूपमा परिचित लुम्बिनीको महत्त्व थप बढेको उनले बताइन्।
‘मलाई पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारी यही अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट प्रदान गरिएको थियो,’ उनले भनिन्, ‘त्यतिबेला यो ठाउँमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदानलगायतका पूर्वाधार बनाउनुपर्छ भन्ने कुरा भएको थियो। ती सबै आज पूरा भएका छन्। यो हामी सबैका लागि खुसीको कुरा हो।’अब पूर्वाधार निर्माणसँगै उद्योग व्यवसायलाई कसरी अघि बढाउने भन्नेमा ध्यान दिनुपर्ने उनले बताइन्। ‘उद्योग व्यवसायमा लागेका मित्रहरूसँग सरसल्लाह गरेर औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै हामी अघि बढ्नुपर्नेछ,’ उनले भनिन्।
एमालेले आफूलाई वरिष्ठ नेतामा मनोनीत गरेकोमा उनले खुसी व्यक्त गरिन्। यद्यपि औपचारिक रूपमा उक्त जिम्मेवारी कसरी सुरु गर्ने भन्ने प्रक्रिया टुंगो लाग्न बाँकी रहेको उनले बताइन्।
‘सुखद् संयोग भन्नुपर्छ, यो पार्टीले मलाई वरिष्ठ नेता मनोनीत गरेको छ,’ भण्डारीले भनिन्, ‘मैले त आफूलाई वरिष्ठ नेता भन्न चाहेको थिइनँ, सबैले भन्ने गर्नुभयो। औपचारिक रूपमा कसरी जिम्मेवारीमा सुरुवात गर्ने हो, टुंगो लागिसकेको छैन। तर पनि यहाँ गौरव लागेको छ।’
हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो।
लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी
लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी
Advertisement
तपाईको प्रतिक्रिया