काठमाडौं । औद्योगिक क्षेत्रमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस)को प्रयोग प्रवर्द्धन गर्न ४५ इन्जिनियरलाई पाँचदिने तालिम सुरु गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी)को आयोजनामा ‘औद्योगिक क्षेत्रका लागि सोलार पीभी तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली : डिजाइन, जडान र सुरक्षा’ विषयक तालिम सुरु भएको हो ।
प्राक्टिकल एक्सन र घामपावर नेपालको सहकार्यमा सञ्चालित तालिम संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युएनआईडीओ)द्वारा व्यवस्थापित तथा बेलायत सरकारको सहयोगमा सञ्चालित एक्सिलरेट–टु–डेमोन्स्ट्रेट (एटुडी) फ्यासिलिटीअन्तर्गतको जीआरआईपीएस–२ परियोजनामार्फत आयोजना गरिएको हो । तालिममा निजी क्षेत्र, शैक्षिक तथा अनुसन्धान संस्था र सरकारी तथा गैरसरकारी निकायबाट छनोट भएका ४५ जना इन्जिनियर सहभागी छन् ।
तालिममा सोलार पीभी तथा बीईएसएसको डिजाइन, जडान, सञ्चालन, सुरक्षा व्यवस्थापन, आर्थिक विश्लेषण र ग्रिड एकीकरणलगायत विषयमा प्राविधिक तथा व्यावहारिक ज्ञान दिइनेछ ।
यस्तै ऊर्जा संक्रमण, नेपालमा सौर्य तथा ब्याट्री सञ्चय प्रणालीको अवस्था, औद्योगिक डिकार्बोनाइजेसन, ऊर्जा व्यवस्थापन, ग्रिड सेवा, ब्याट्री प्रविधि, सुरक्षा मापदण्ड, साइबर सुरक्षा, वातावरणीय तथा सामाजिक सुरक्षा, सञ्चालन तथा मर्मत एवं पुनःप्रयोग र पुनर्चक्रणका विषय पनि तालिममा समेटिएका छन् ।
सहभागीलाई वास्तविक औद्योगिक अवस्थासँग सम्बन्धित समूह अभ्यास तथा क्षेत्रीय अवलोकन भ्रमणसमेत गराइने एईपीसीले जनाएको छ ।
केन्द्रका अनुसार सौर्य ऊर्जा र बीईएसएसको प्रयोगले उद्योगको ऊर्जा लागत घटाउनुका साथै विद्युत् आपूर्तिको भरपर्दोपना बढाउन र कार्बन उत्सर्जन घटाउन सहयोग पुग्नेछ ।
एईपीसी सञ्चालक समिति सदस्य अंकिता शाहले पछिल्ला बाढी तथा जलवायुजन्य विपद्ले नेपालको ऊर्जा पूर्वाधारमा रहेको जोखिम उजागर गरेको बताइन् । नेपालको विद्युत् प्रणाली मुख्यतः जलविद्युत्मा आधारित रहेकाले उत्पादन, प्रसारण तथा वितरण पूर्वाधार नदी प्रणालीसँग नजिक रहेको र चरम मौसमीय घटनाबाट प्रभावित हुनसक्ने उनले बताइन् । ‘सौर्य ऊर्जा र ब्याट्री सञ्चय प्रणालीले स्थानीय स्तरमै ऊर्जा उत्पादन र सञ्चय गर्न सक्ने भएकाले ऊर्जा प्रणालीको जलवायु सहनशीलता बढाउन महत्वपूर्ण भूमिका खेल्छ,’ शाहले भनिन् ।
उनका अनुसार सोलार पीभी र बीईएसएसको डिजाइन, जडान, सञ्चालन, मर्मत, ऊर्जा व्यवस्थापन तथा रियल टाइम मोनिटरिङमा दक्ष जनशक्ति तयार गर्न तालिमले सहयोग पुर्याउनेछ । यसबाट हरित रोजगारी तथा नयाँ उद्यमशीलताका अवसरसमेत सिर्जना हुने उनको भनाइ छ । शाहले सरकार र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको प्राथमिकतामा ऊर्जा मिश्रण र ऊर्जा सुरक्षा रहेको बताइन् । उनका अनुसार बीईएसएससहितको सौर्य ऊर्जा अहिले सरकारको प्राथमिकतामा छ र यससम्बन्धी नीतिगत तथा दिशानिर्देश निर्माणको काम अघि बढिरहेको छ ।
‘सोलारमा आधारित बीईएसएसलाई प्रमुख औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने तयारी भइरहेका बेला यो तालिम उपयुक्त समयमा आयोजना भएको छ,’ उनले भनिन् ।
सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
Advertisement
तपाईको प्रतिक्रिया