काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुने चेतावनी दिएका छन्।
मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई ‘कट-अफ डेट’ का रूपमा लिइएको बताए।
‘अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन,’ ओलीले भने, ‘पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ।’
ओलीले पार्टीका दुई मुख्य कार्यभारका रूपमा ‘लोकतन्त्रको पुनर्वहाली’ र आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारीलाई अघि सारे। निर्वाचनमा केन्द्रित भएर पार्टीलाई जिताउने गरी संगठन निर्माणमा लाग्न उनले नेता–कार्यकर्तालाई निर्देशन दिए।
‘निर्वाचनमा फोकस हुन्छौं र जित्छौं। जनसंगठनहरू डिफङ्क्ट छन्, अब रिअर्गानाइज हुन्छ,’ उनले भने।
पार्टीभित्रको पुनर्गठनका नाममा अध्यक्ष हटाउने प्रयास भएको भन्ने विषयमा पनि ओलीले असन्तुष्टि जनाए। केन्द्रीय कमिटी बैठकअघिका गतिविधिलाई क्षमादान गरिएको तर अब त्यस्तो छुट नहुने उनको भनाइ थियो। ‘हामी कुनै प्रतिनिधि परिषद् बैठकतिर लाग्दैनौं। यो चुनावको तयारी गर्ने बेला हो। कोराकोर, हानाहान गर्ने होइन,’ उनले भने।
ओलीले नेता–कार्यकर्तालाई एउटै लक्ष्यमा केन्द्रित भएर संगठन निर्माणमा सम्पूर्ण शक्ति लगाउन आग्रह गरे। देशलाई पछाडि धकेल्ने, संवैधानिक प्रक्रिया मिच्ने तथा विध्वंस र आतंक सिर्जना गर्ने प्रयास भइरहेको दाबी गर्दै उनले त्यसलाई रोक्न एमाले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
उनले गत वर्ष भदौ २३ र २४ गतेका घटनाका क्रममा राष्ट्रिय सम्पत्ति, सिंहदरबारलगायत संरचना तथा व्यक्तिका घरमा भएको आगजनी र त्यसबाट उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गरे।
‘गैरसंवैधानिक कदमहरूका कारण देश संकटमा परेको छ। तर एमालेले देशलाई पुनः लोकतान्त्रिक विधि र संवैधानिक ट्र्याकमा ल्याउन तथा संविधानको रक्षा गर्न दृढतापूर्वक नेतृत्व लिनेछ,’ ओलीले भने। फागुनमा भएको निर्वाचनमा पार्टीले भोगेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंस र पार्टीभित्रका आन्तरिक कमजोरीका कारण भएको उनको दाबी थियो। अब व्यक्तिगत स्वार्थभन्दा सामूहिक स्वार्थलाई प्राथमिकता दिनुपर्ने उनले बताए।
विरोधीहरूले फैलाएका भ्रम चिर्न तथ्य, तर्क र प्रमाणमा आधारित डिजिटल क्याम्पेन सञ्चालन गरिने पनि ओलीले जानकारी दिए।
अन्य दलसँग पार्टी एकताको चर्चा गर्नु समयको बर्बादी हुने उनको भनाइ छ। यद्यपि निर्वाचनमा तालमेल वा विषयगत कार्यगत एकता गर्न सकिने उनले बताए।
‘अन्य शक्तिसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुन सक्छ। तर अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त छैन,’ उनले भने।
ओलीले राजधानी वा सुविधाजनक ठाउँमा बसेर जिल्ला तथा कार्यक्षेत्रको जिम्मेवारी पूरा नहुने भन्दै नेताहरूलाई कार्यक्षेत्रमै खटिन निर्देशन दिए। ‘टुरिस्ट’ जस्तो कार्यक्षेत्रमा घुम्नेभन्दा स्थानीय संगठनको अवस्था बुझेर कार्ययोजना बनाउन उनले आग्रह गरे। नेता–कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताका आधारमा नभई काम र श्रेष्ठताका आधारमा गरिने ओलीले बताए।
‘आफूलाई बदल्नुहोस्, शालीनता र विनम्रता सिक्नुहोस्। देश बनाउने स्पष्ट खाका र नीति एमालेसँग मात्रै छ। आत्मबलका साथ जनतामाझ पुगेर भरोसा जगाउनुहोस्,’ उनले भने।
केन्द्रीय कमिटीले अघि बढाएको डिजिटल अभिलेखीकरण तथा संगठन सुदृढीकरणको काम यही महिनाभित्र सम्पन्न गर्न र नयाँ सदस्यता वितरणलाई तीव्रता दिन पनि उनले निर्देशन दिए।
पार्टी केन्द्रीय कार्यालयबाट सञ्चालित भर्चुअल कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र रघुजी पन्त, महासचिव शंकर पोखरेल तथा सचिवहरू पद्मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल र डा. राजन भट्टराईलगायत नेताहरू सहभागी थिए।
पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली
पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली
Advertisement
तपाईको प्रतिक्रिया