काठमाडौं — नेपाली सेनाले नुवाकोट र रसुवाको सीमास्थित बेत्रावतीको फलाकु खोलामा निर्माण गरेको २४० फिट लामो एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
भोटेकोसीमा गत भदौ १० मा आएको बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि यातायात पुनः सञ्चालन गर्ने क्रममा सेनाले उक्त पुल निर्माण गरेको हो। सेनाले आइतबार पुल सडक आयोजनालाई हस्तान्तरण गरेको जनाएको छ।
पुल निर्माणका लागि सेनाले सुरुमा करिब ३०० मिटर सडक खण्डमा रहेका कठिन चट्टान फुटाएर पहुँचमार्ग तयार पारेको थियो।
त्यसपछि असोज २० देखि सुरु गरिएको पुल जडानको काम असोज २४ मा सम्पन्न भएको सेनाले जनाएको छ।
नवनिर्मित पुल २४० फिट (७३.२ मिटर) लामो र १८ फिट (५.५ मिटर) चौडा छ। पुलले अधिकतम ४० टनसम्म भार बहन गर्न सक्छ।
पुल सञ्चालनमा आएसँगै नुवाकोट, रसुवा र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। साथै, बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तथा अन्य अत्यावश्यक वस्तु ढुवानी गर्न पनि सहज हुने विश्वास गरिएको छ।
बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
Advertisement
तपाईको प्रतिक्रिया