गुल्मी । तीज नजिकिँदै गर्दा नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढेको छ। यसैक्रममा गायिका कल्पना कुसुमको नयाँ तीज गीत ‘मै राम्री भएको’ सार्वजनिक भएको छ।
‘मै राम्री भएको तिम्रै लागि हो’ बोलको गीतमा प्रेम, आत्मीयता र समर्पणका भाव समेटिएका छन्। तीजको सांगीतिक माहोलमा प्रेम र रोमान्सलाई केन्द्रमा राखेर गीत तयार गरिएको हो।
गीतमा नेत्र अर्यालको शब्द, नन्दु परियारको लय तथा कल्पना कुसुम र नन्दु परियारको स्वर रहेको छ। गीतले प्रेमीप्रतिको समर्पण र आफ्नो सौन्दर्यलाई प्रेमसँग जोडेर प्रस्तुत गरेको छ।
गीतको भिडियोमा अञ्जली अधिकारी र सुरेश कोहिको मुख्य अभिनय छ। प्रेमसम्बन्धमा रहेका युवा जोडीको भावनात्मक सम्बन्धलाई भिडियोमार्फत प्रस्तुत गरिएको छ। भिडियोको नृत्य निर्देशन प्रकाश भट्टले गरेका छन्।
कल्पना कुसुमले पछिल्ला केही वर्षदेखि तीजलाई लक्षित गर्दै आफ्ना नयाँ गीत सार्वजनिक गर्दै आएकी छन्। यसपटक पनि ‘मै राम्री भएको’ मार्फत तीजको मौलिक सांगीतिक परम्परालाई प्रेम र रोमान्सको भावसँग जोड्ने प्रयास गरिएको उनले बताइन्।
गीतको भिडियो गायिका कल्पना कुसुमको आधिकारिक ‘कल्पना कुसुम’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीत सार्वजनिक भएपछि श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको गायिका कुसुमले बताइन्।