तुलबहादुर कवँर मगर,सिसहनियाँ। दाङको राप्ती गाउँपालिका–८ कहलुवास्थित भैसवा खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको छ। संघीय सरकारको ३ करोड ७८ लाख ७२ हजार ७ सय ४४ रुपैयाँ लागतमा बन्ने पुलले स्थानीयवासीले वर्षायाममा वर्षौँदेखि झेल्दै आएको आवत–जावतसम्बन्धी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार संघीय सरकारबाट बजेट विनियोजन भएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, बुटवलमार्फत सम्पन्न टेन्डर प्रक्रियामा भिजन ईसान जेभी प्यूठानले निर्माण जिम्मेवारी पाएको छ।
आयोजना कार्यालयका सब–इन्जिनियर अर्जुन सुवेदीका अनुसार निर्माणाधीन पुल ३० मिटर लम्बाइ र १० मिटर चौडाइको रहनेछ। गत असारमै सम्झौता भइसकेको योजनालाई दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण व्यवसायी रेशम केसीले आगामी असारमै काम सकिने दाबी गरेका छन्।
भैसवा खोलामा पक्की पुल नहुँदा वडा नं. ८ का साथै आसपासका बासिन्दाले बर्खायाममा जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता थियो। लगातार उठ्दै आएको मागअनुसार अब निर्माण सुरु भएसँगै सुरक्षासहित सहज यातायात सुविधा उपलब्ध हुने स्थानीयको अपेक्षा छ।
भैसवा खोलामा पक्की पुल निर्माण सुरु,
भैसवा खोलामा पक्की पुल निर्माण सुरु,
Advertisement
तपाईको प्रतिक्रिया