प्युठान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले मंसिरभित्र नियमित महाधिवेशन गर्न पाँच बुँदे प्रस्ताव अघि सारेका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “यदि पार्टीले अबिलम्ब निर्णय गरेर अघि बढ्यो भने मंसिर मसान्तभित्रै महाधिवेशन सम्भव छ।”
पोखरेलका अनुसार नियमित महाधिवेशन भए वडादेखि केन्द्रसम्म सबै तहमा प्रतिस्पर्धात्मक ढंगले नयाँ नेतृत्व आउन सक्नेछ। “यसले पार्टीमा जेनजी र युवा पुस्तालाई समेत अवसर दिनेछ,” उनले लेखेका छन्।
उनको भनाइमा, केवल केन्द्रीय सभापति होइन, सबै तहका नेतृत्वमा नयाँ व्यक्तित्व ल्याउनुपर्ने आवश्यकता कांग्रेसभित्र बढ्दो छ। पोखरेलले आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकले यस विषयमा ठोस निर्णय लिनुपर्ने आग्रह गरेका छन्।
यी हुन् मंसिरभित्र नियमित महाधिवेशन गर्न नेता पोखरेलले अघि सारेको पाँच प्रस्ताव
१. क्रियाशील सदस्यको प्रक्रिया चाँडो टुङ्ग्याउन अहिलेको क्रियाशील सदस्यबारे गठन गरेको समितिमा थप १५ जना राखौँ र सबैलाई प्रदेश अनुसार जिम्मा दिऔँ।
२. भोलि २६ गते हुने केसले १४ का सबै क्रियाशीलको नवीकरण भएको निर्णय गराऔँ र क्युआर कोर्ड बनाएर एक हप्ता भित्र तोकेको दस्तुर तिर्न जतिको नवीकरण भयो भनौँ।
३. कार्तिक १०–२० सम्म प्रत्येक वार्डमा कम्तीमा १०० जना पुग्ने गरी वा धेरै भएका ठाउँमा २० प्रतिशत नयाँ थप्ने गरी अनलाइन दर्ता गर्न भनौँ। १२–१५ कार्तिकमा हरेक वार्डमा नयाँ क्रियाशील अभियान र पुराना छुट नवीकरण गर्न भनौँ।
४. कार्तिक २० मसान्त सम्म सबै क्रियाशीलको विवाद जिल्ला प्रदेश र केन्द्रको समितिले समन्वय गरी निर्णय गरौँ र टुंग्याऔ।
५. १३ औँ मा जस्तै मंसिर ३ बाट वार्डमा सुरु गरेर २० गते सम्म सबै जिल्ला टुंग्याऔ। मंसिर २५ मा उद्घाटन र २७ मा प्रदेश र केन्द्रको एकै दिन निर्वाचन गराऔँ। सबै महाधिवेशन प्रतिनिधिलाई काठमाडौँ नओसारी प्रदेशको केन्द्रमा मत खसाल्ने वातावरण बनाऔँ।