दाङ — दाङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत बन्न लागेको धानखोला–लमही सडक खण्डलाई डिभाइडरसहित चार लेनमा विस्तार गर्न सुझाव दिएका छन्।
आइतबार भालुबाङमा मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालका प्रमुख वित्तीय अधिकृत निर्मल खतिवडा र सञ्चार विज्ञ सविन मिश्रसँग भएको छलफलमा दुवैले दुई लेन पर्याप्त नहुने भन्दै योजनामा संशोधन गर्नुपर्ने धारणा राखे।
सांसद चौधरीले सडक पूर्वाधार निर्माण दीर्घकालीन सोचका साथ हुनुपर्नेमा जोड दिए। उनले भने, “कम्तीमा ५० वर्षलाई लक्षित गरेर सडक बनाउनुपर्छ। दुई लेन मात्र भए दुर्घटनाको जोखिम बढ्छ। त्यसैले डिभाइडरसहित चार लेन सडक आवश्यक छ।” चौधरीले प्रमुख बजार क्षेत्रमा आकाशे पुलको व्यवस्था गर्नुपर्ने पनि सुझाव दिए।
गाउँपालिका अध्यक्ष विष्टले पनि सडकलाई शहरी मापदण्डअनुसार विस्तार गर्नुपर्ने बताए। उनका अनुसार, “डिभाइडर नहुँदा दुर्घटना बढिरहेका छन्। अहिले नै चार लेन नबनाउने हो भने समस्या अझ बढ्छ। यस क्षेत्रमा स्थानीयको चाहना पनि डिभाइडरसहितको चार लेनकै हो।”
एमसिए नेपालका प्रतिनिधिहरूले भने सडक विस्तार योजना सरकारले तोकेको मापदण्ड, सवारी चाप र जनघनत्वको आधारमा तयार गरिएको जानकारी दिए। उनका अनुसार, करिब ४० किलोमिटर लामो सडकलाई फुल डेप्थ रिक्लेमेसन (एफडिआर) र सुपर पेभ प्रविधिबाट मर्मत गरिनेछ। नेपालमै पहिलो पटक प्रयोग हुन लागेको यस प्रविधिबाट पुराना संरचना पुनः प्रयोग गरी बलियो, टिकाउ र वातावरणमैत्री सडक बनाउन सकिने दाबी गरिएको छ।
योजनाअनुसार सडकलाई १२ मिटर चौडाइमा विस्तार गरिनेछ। जसमा ७ मिटर आधुनिक प्रविधिबाट कालोपत्रे र दायाँ–बायाँ २.५–२.५ मिटर सामान्य कालोपत्रे हुनेछ।
करिब २ करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको सडक निर्माणको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। काम सुरु भएपछि तीन वर्षभित्र सक्ने योजना छ।
एमसिए नेपालका प्रतिनिधिहरूले छलफलमा उठेका सुझाव कार्यालय प्रमुखसम्म पुर्याइने र आवश्यक समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।
धानखोला–लमही सडक चार लेनमा विस्तार गर्न सुझाव
धानखोला–लमही सडक चार लेनमा विस्तार गर्न सुझाव

Advertisement
तपाईको प्रतिक्रिया