काठमाडौं — खानेपानी मन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच आइतबार तराई–मधेसमा देखिएको दीर्घकालीन खानेपानी संकट समाधानबारे गहन छलफल भएको छ।
खानेपानी मन्त्रालयमा भएको छलफलमा केही दिनअघि स्थलगत अनुगमन गरेर फर्किएको भारतीय टोलीले संकटग्रस्त जिल्लाहरूको अवस्थाबारे विस्तृत प्रतिवेदन तयार गर्ने जानकारी गराएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले बताइन्।
मन्त्री यादवले भारतीय टोलीसँगको छलफल फलदायी भएको उल्लेख गर्दै प्राप्त निष्कर्षको आधारमा नेपाल सरकारले आवश्यक कदम चालेने बताए। उनले सहयोगका लागि भारत सरकारप्रति आभार प्रकट गर्दै “प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा तराई–मधेसको खानेपानी समाधानका लागि ठोस योजना र सहमति होस् भन्ने अपेक्षा गरिएको” बताए।
यसअघि नेपाल–भारतबीच जलशक्ति मन्त्रालयस्तरीय सम्झौता (एमओयू) भएको र त्यसकै परिणामस्वरूप यस्तो सहकार्य सम्भव भएको मन्त्री यादवले उल्लेख गरे।
देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राईले टोलीले तराई–मधेसका विभिन्न संकटग्रस्त जिल्लामा पुगेर स्थलगत अवलोकन गरेको र कार्ययोजना सहितको प्रतिवेदन तयार भइरहेको जानकारी दिए।
बैठकमा मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, उपमहानिर्देशक नारायणप्रसाद आचार्यलगायत सहभागी थिए। भारतीय पक्षबाट प्रशान्त राई, जगदम्बा प्रसाद र आशिष पाण्डेसहितको टोली सहभागी थियो।
तराई–मधेसको खानेपानी संकट समाधानबारे नेपाल–भारत बीच गहन छलफल
तराई–मधेसको खानेपानी संकट समाधानबारे नेपाल–भारत बीच गहन छलफल

Advertisement
तपाईको प्रतिक्रिया