कपिलवस्तु — मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ। शुक्रबार बिहान करिब ५:४५ बजे पत्थरकोट–गोरुसिङ्गे सडकखण्डमा अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको बीएबी ९५९९ नम्बरको कारले ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१ बसन्तपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी गम्भीर घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए।
कार चालक सैनामैना नगरपालिका–५, रुपन्देहीका ३२ वर्षीय खिमराज श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Advertisement