गुल्मी । गुल्मीमा भुस्याहा र घरपालुवा कुकुरको संख्या र रेबीज संक्रमण नियन्त्रण गर्न बन्ध्याकरण अभियान सुरु गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको संयोजनमा हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) नेपालको प्राविधिक सहयोगमा विशेषज्ञ टोलीले स्थानीय तहमा शिविर सञ्चालन गर्दै ४ सय कुकुरको बन्ध्याकरण गर्ने योजना बनाइएको हो।
छत्रकोट गाउँपालिकामा दुई दिन चलेको शिविरमा १०९ कुकुरको बन्ध्याकरण भइसकेको छ भने रेसुङ्गा नगरपालिकामा अभियान जारी छ। पहिलो दिन नै ५६ कुकुरको बन्ध्याकरण गरिएको छ। जिल्लामा हाल ८ हजार कुकुरमध्ये आधा भुस्याहा छन्। पशु सेवा केन्द्रका प्रमुख हुमाकान्त पाण्डेका अनुसार, बन्ध्याकरणसँगै कुकुरलाई रेबीजविरुद्धको खोप पनि दिइनेछ। यसबाट कुकुरको स्वास्थ्यमा सुधार आउने, दीर्घायु हुने र मोटाउनेसमेत अपेक्षा गरिएको छ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले शिविर शुभारम्भ गर्दै समग्र जैविक प्रणालीको सन्तुलनका लागि जनावर संरक्षण आवश्यक भएको बताए। पछिल्लो वर्ष गुल्मीदरबार गाउँपालिकामा कुकुरको टोकिनबाट एक महिलाको मृत्यु भएको थियो। चालु वर्षको चैतसम्म ८८० जनाले रेबीजविरुद्धको खोप लगाएको तथ्यांक गुल्मी अस्पतालका सूचना अधिकारी रमेश पन्थीले दिएका छन्।
मुख्य बजार क्षेत्र, सडक, चोक र गल्लीमा भुस्याहा कुकुरको बिगबिगीले जनजीवन प्रभावित हुँदै आएको छ। बन्ध्याकरण अभियानबाट दीर्घकालीन समाधानको आशा गरिएको छ।
गुल्मीमा ४ सय कुकुरको बन्ध्याकरण अभियान सुरु
गुल्मीमा ४ सय कुकुरको बन्ध्याकरण अभियान सुरु

Advertisement
तपाईको प्रतिक्रिया