प्यूठान। प्यूठानमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि चार विद्यार्थी संगठनबीच गठबन्धन भएको छ, जबकि एमाले निकट अनेरास्ववियु एक्लै प्रतिस्पर्धामा उत्रिएको छ।
गठबन्धनमा नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल (क्रान्तिकारी), अखिल (छैठौं) र अखिल (समाजवादी) छन्। सहमति अनुसार नेपाल विद्यार्थी संघले २ क्याम्पसमा, भने अन्य तीन संगठनले १/१ क्याम्पसमा सभापतिका उम्मेदवार पाउने गरि भागबण्डा गरिएको छ । चैत ५ गते हुने चुनावका लागि जिल्लाको अमर क्याम्पस भिङ्ग्री बाहेक सबै क्याम्पसहरूमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ।
झिमरुक क्याम्पस बागदुलामा कमल रोकाको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भइसकेको छ। स्वर्गद्वारी क्याम्पसमा अनेरास्ववियुका टेकराज केसी,गठबन्धनबाट अखिल (क्रान्तिकारी) का केसर सुनार र स्वतन्त्र विद्यार्थी समूहका अनुपराज पाण्डे बीच प्रतिस्पर्धा हुनेछ। प्यूठान क्याम्पस खलङ्गामा अनेरास्ववियुका रुद्र भुसालसंग प्रतिस्पर्धाका लागि गठबन्धनले नेपाल विद्यार्थी संघका प्रमोद वलीलाई मैदानमा पठाएको छ।
गौमुखी क्याम्पस मच्छीमा अनेरास्ववियुकी स्नेहा केसीसँग गठबन्धनबाट अखिल छैठौंका प्रविण जिसी सभापतीमा भिड्दै छन।
उता, अमर क्याम्पस भिग्रीमा मनोनयन भोलिका लागि सारिएको छ। यहाँ अनेरास्ववियु र नेविसंघबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा (एमाले) निकट अनेरास्ववियु प्यूठानका जिल्ला अध्यक्ष टेकराज केसीले स्ववियु चुनाव एक्लै लड्ने बताएका छन।
उनले भने, “अनेरास्ववियु कोहीसँग तालमेल नगरी आफ्नै संगठनको तागतमा चुनाव लड्न सक्षम छ ।”
प्यूठानको विद्यार्थी राजनीतिमा गठबन्धन र अनेरास्ववियुबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। राजनीतिक दलहरूले पनि स्ववियू निर्वाचनलाई प्रतिष्ठाको विषय बनाउँदै परिणाम आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन्।
जसले जिल्लामा दलहरूको वास्तविक जनसमर्थन पनि मापन गर्ने बताइन्छ।
प्यूठानमा अनेरास्ववियुसंग प्रतिस्पर्धा गर्न चार संगठनको गठबन्धन
प्यूठानमा अनेरास्ववियुसंग प्रतिस्पर्धा गर्न चार संगठनको गठबन्धन

Advertisement
तपाईको प्रतिक्रिया