काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई आजबाट प्रशिक्षण दिने भएको छ ।
एमालेले आज र भोलि दुई दिन स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो । स्थानीय तहमा बजेट बनाउनुअघि पार्टीका तर्फबाट आवश्यक सल्लाह, सुझाव र निर्देशन दिन जनप्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै पार्टीका नेता र विभिन्न विषयविज्ञले प्रशिक्षण दिने कार्यक्रम छ । पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा हुने प्रशिक्षणमा एमालेबाट स्थानीय तहमा निर्वाचित स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको सहभागिता रहनेछ । प्रशिक्षणको उद्घाटन सत्रमा आज अध्यक्ष ओलीले सम्बोधन र दिशानिर्देश गर्नेछन् । समापनमा कार्यक्रममा महासचिव शंकर पोखरेलले समसामयिक राजनीतिक परिवेश र स्थानीय तहका जनप्रतिनिधिहरूबाट पार्टीको भूमिका विषयमा सम्बोधन गर्नेछन् ।
यसैगरी, जनप्रतिनिधिहरूलाई स्थानीय तहको ठाडो र तेर्सो अन्तर सम्बन्ध, समन्वय र साझेदारी तथा पार्टीको भूमिका विषयमा उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षित गर्ने कार्यक्रम रहेको बताइएको छ ।