काठमाडौं। निर्वाचन आयोगले पर्वतको कुस्मा नगरपालिकास्थित नारायणी माध्यमिक विद्यालयका शिक्षक सुभन्तराज सुवेदीलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण सोधेको छ । आफ्नो पदीय दायित्व समेत ख्याल नगरी लगातार निर्वाचन सम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने समेत व्यहोराको आयोगमा उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन ।
सुवेदीलाई २४ घण्टाभित्र निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय, पर्वतमा आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत चित्तबुझ्दो आधार कारण उल्लेख गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।