अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले जिल्लामा बिकास गर्ने सक्षम नेताको बारेमा जनता जानकार रहेको बताउनुभएको छ ।
नेकपा एमाले द्वारा सन्धिखर्क वडा नं.-९ र १० मा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मन्तव्य राख्दै उहाँले अर्घाखाँचीको बिकासको निम्ति सिन्को सम्म नभाँचेकाहरुले जिल्लामा यो गरें र त्यो गरें भनेर जनतालाई दिग्भ्रमित पार्न खोजेको आरोप लगाउनु भयो ।
जिल्लाको बिकासको निम्ति मिलेर जाउँ भन्दा भाग्ने भगौडाहरुले चुनावको मुखमा मतदातालाई प्रभाव पार्नको निम्ति बिकासका कुरा गरेको उहाँको गुनासो छ ।
पञ्चाय र कांग्रेसले ५० बर्ष सम्म गरेको काम भन्दा आफुले १५ बर्षमा गरेको काम कैयौं गुणा धेरै भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले मुलुकको बिकास र समृद्धि नेकपा एमालेबाट मात्र संभव भएको बताउनुभयो । उहाँले आफुहरुलाई विजयी गराए अर्घाखाँचीलाई नमुना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आचार्यले गलत ठाउँमा मतदान गरे पछुताउनु पर्ने भन्दै जनता धेरै सचेत रहेको समेत बताउनुभयो ।
