सुरज भट्टराई, रुपन्देही। निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ । नेकपा (एकीकृत समाजवादी)का गुरुङ नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग गठबन्धनका तर्फबाट प्रतिस्पर्धी हुनुहुन्थ्यो । गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा कमल भुसालको उम्मेदवारी पनि खारेज भएको छ ।
उम्मेदवार हुन अयोग्य देखिएको भन्दै मंगलबार निर्वाचन अधिकृतको कार्यालयले उनीहरुको उम्मेदवारी खारेज गरेको हो । सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राती एक सूचना प्रकाशित गरी गुरुङ र भुसालको उम्मेदवारी खारेज भएको जानकारी गराएका हुन् ।
गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एसका राजु गुरूङ, हाम्रो नेपाली पार्टीका उम्मेदवार डाक्टर निकोलस भुसाल र हिमाल बस्याल तीनै जनाको उम्मेदवारी खारेज भएको आयोगले जारी गरेको सूचनामा जनाइएको छ ।
तीन जना उम्मेदबारको उम्मेदवारी नै खारेज भएपछी नेकपा एमालेबाट उम्मेदवार रहेका विष्णु पौडेललाई निर्वाचन लड्न सहज हुने भएको छ । एमाले नेता पौडेल २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा रुपन्देहीबाट विजयी हुँदै आएका छन्।