टिकटक बनाउने क्रममा खोलामा खसेर बेपत्ता बालिकाको शव भेटियो

दाङ । रोल्पामा टिकटक बनाउने क्रममा खोलामा खसेर एकजना  बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलीचौरकी १४ वर्षीया फरिदा खातुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

खातुन आफ्ना अन्य दुई साथीका साथमा खोला किनारको बालुवामा खेल्न गएकी थिइन्। टिकटक बनाउने क्रममा खोलामा खसेर उनलाई खोलाले बगाएको उनका साथीहरुले प्रहरीलाई बयान दिएका छन । खातुनलाई सोमबार तीन बजेतिर स्थानीय फगाम खोलाले बगाएको थियो।

खातुनलाई खोलाले बगाएको देखेपछि उनका साथीहरूले जालले माछा मार्दै गरेका एक व्यक्तिसँग गुहार मागेका थिए। ती माझीले खातुनलाई बचाउन प्रयास गरे पनि सफल हुन नसकेपछि प्रहरीलाई खबर गरिएको थियो।

सोमबार दिउँसोदेखि नै खातुनको खोजी थालिएकोमा मंगलबार  दिउँसो साढे २ बजेतिर सुनिल स्मृति गाउँपालिका वडा नं. २ खुङ्ग्रीस्थित सोनु पेट्रोल पम्पनजिकै खुङ्ग्री खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताए। शव पोष्टमर्टमको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...