काठमाडौँ – बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा पनि क्षति पुर्याएको छ । पैदलयात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ ।
पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने यातायातको सेवा बट्टारमा नै रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक ललिता ढकालले पुल भासिएसँगै सडकको दुवैतर्फ विच्छेद भएको बताए ।
क्षति पुगेको पुल र अवरोध भएको सडक अहिले बिहानबाट खुलाउन प्रयास गरिएको डिभिजन सडक कार्यालयका प्रमुखसमेत रहेका ‘गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । उनका अनुसार सडक डिभिजन र योजना कार्यालयका उपकरण र जनशक्ति परिचालन गरेर जतिसक्दो छिटो अवरुद्ध सडक पुनः सञ्चालन गर्न प्रयास गरिने छ ।