जीवन न्यौपाने, नवलपरासी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै गर्दा पश्चिम नवलपरासी काङ्ग्रेसमा पनि भावी नेतृत्वको लागि जिल्ला नेताहरु गुटगत राजनीति गर्दै उम्मेदवार घोषणा प्रक्रियामा हानथाप गरिरहेका छन् ।
जिल्लामा प्रतिनिधिसभा सदस्य एवं १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र सविधानसभा सदस्य विक्रम खनालको २ गुटगत राजनीति सक्रिय छ ।
आसन्न अधिवेशन नजिकिदै गर्दा खनाल पक्षका जिल्ला नेताहरुले भने पार्टीमा छलफल नै नगरि छुट्टै गुटगत भेला गरेर कांग्रेस नवलपरासीका वर्तमान उपसभापति अर्जुन कुमार पोखरेललाई जिल्ला सभापतिको उम्मेदवारको रुपमा सार्वजनिक गरिसकेका छन् । त्यसैगरी कँडेल पक्षधर जिल्ला नेताहरूले भने अन्य व्यक्तिलाई सभापतिको उम्मेद्वारमा उठाउने आन्तरिक तयारी गरिरहेको भएतापनि नाम भने अझै सार्वजनिक गरेका छैनन् ।
यसैबीच काङ्ग्रेसको आसन्न महाधिवेशनका लागि सुनवल नगरपालिकाको सभापति पदका लागि कृष्णप्रसाद लामिछानेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आइतबार सुनवल नगरपालिका वडा नम्बर ११,१२ र १३ (साविक रामनगर) का पार्टीका कृयाशिल सदस्यहरुको भेला मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । लामिछानेलाई कंडेल निकटको रुपमा लिइन्छ ।
यता लामिछानेको उम्मेदवारी घोषणा पुर्व नै खनाल पक्षधर जिल्ला नेताहरुले भने सुनवल नगरपालिकाको पार्टी सभापतिमा हालका सभापति सोमबहादुर रायमाझीलाई नै पुन उम्मेदवारी गराउने तयारी गरिरहेको छ ।
त्यस्तै आइतबार नै लामिछाने तर्फको प्यानबाट उपसभापति पदमा पेउनारायण न्यौपानेको उम्मेदवारी समेत घोषणा भएको छ । विधानमा दुई उपसभापति रहने व्यवस्था भएपनि लामिछाने प्यानलमा अर्को उपसभापतिको नाम भने टुंगो लाइसकेको छैन ।
को हुन् कृष्णप्रसाद लामिछाने ?
२०१६ सालमा पाल्पा जिल्लाको झडेवामा जन्मिएका लामिछाने बाल्यबस्थाबाटै नवलपरासी जिल्लाको सुनवल नगरपालिका ४ रमवापुरमा स्थायी बसोबास गर्दै आएका छन् । उनले २०४२ सालमा काङ्ग्रेसको कृयाशिल सदस्य लिएका हुन् ।
समाजशास्त्र विषयमा बिए पास गरेका लामिछाने शैक्षिक व्यक्तित्व हुन् ।
उनले जिल्ला शिक्षक संघ नवलपरासीमा २ कार्यकाल कोषाध्यक्ष पदका साथै केन्द्रिय प्रतिनिधिको रुपमा जिम्मेवारी बहन गरिसकेका छन् । नेपाल जेसिजलाई नवलपरासीमा भित्र्याउन समेत उनले अहम भुमिका निर्वाह गरेका थिए । डा. विनोद कंडेल आंखा अस्पताल परासीको २ कार्यकालसम्म सञ्चालक समितिमा रहेर काम गरिसकेका लामिछानेसङ्ग लायन्स क्लब अफ सुनवल र रेयुकाईको कार्यसमितिमा रहेर समेत सामाजिक कार्य गरेको अनुभव छ । त्यस्तै उनि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीमा समेत उपसभापति पदमा २ पटकसम्म जिम्मेवारी सम्हालिरहेका छन् । महाकवि देवकोटा माद्यामिक विद्यालयमा २७ वर्ष मावि तहको शिक्षण पेशामा आवद्ध लामिछाने सोही विद्यालयको सञ्चालक समितिमा २ कार्यकालसम्म काम गरेका थिए । महाकवि देवकोटा क्याम्पसका सस्थापक सदस्यका साथै चौथो कार्यकालसम्म पनि अध्यक्ष पदमा लामिछानेले आफ्नो कुशल जिम्मेवारी निर्वाह गरिरहेका छन् । जिल्लाकै नमुना क्याम्पसको रुपमा लिइने महाकवि देवकोटा क्याम्पसमा शैक्षिक गुणस्तर विकास गर्न लामिछानेले
उल्लेख्य भुमिका निर्वाह गरिरहेका छन् ।
त्यस्तै लामिछाने सुनवल मै रहेको अर्को सोमनाथ बाबा क्याम्पस तथा वोर्डिङका सस्थापक समेत हुन् ।
१३ वटा वडा रहेको सुनवल नगरपालिकामा काङ्ग्रेसको नविकरण भएको ९ सय ८६ र थप सिफारिस गरि पठाएको नयाँ कृयाशिल सदस्य १ हजार १ सय १५ गरि जम्मा २ हजार १ सय १ कृयाशिल सदस्य सङ्ख्या छ ।
काङ्ग्रेसमा नगर कार्यसमिति चयनका लागि नगर सभापति सहित अन्य सबै क्रियाशिल सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था रहेको छ ।
नेपाली कांग्रेसको आगामी साउन १२ गते वडा तहमा अधिवेशन हुँदैछ । वडा समिति र क्षेत्रीय प्रतिनिधि वडाबाट चयन हुनेछन् । साउन १६ गते हुने पालिका अधिवेशनबाट पालिका कार्यसमिति र अपाङ्गहरुको क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । साउन २० गते क्षेत्रको प्रदेश समितिको अधिवेशनले प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । साउन २३ गते हुने क्षेत्रको अधिवेशनले क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्दैछ । साउन २६ गते हुने जिल्ला अधिवेशनले जिल्ला कार्यसमिति चयन गर्नेछ ।