काठमाडौँ – आज एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय संकल्पका साथ दिवस मनाइँदैछ । दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लैंगिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको बताउनुभएको छ । यस्तै‚ उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गर्नुभएको छ । नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको कार्यभार पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भन्ने कामना गर्नुभएको छ ।