काठमाडौं। गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब कहिले विवाह हुन्छ ?’
यस प्रश्नले दिक्क भएकी गायिकाले अब भने विवाह नगर्ने सोच बनाएकी छन् । उनले राजधानीसँगको भेटमा भनिन्, ‘खै अब त के विवाह गरिएला र ! मैले धेरै विवाहितहरूको अवस्था हेरेर पनि विवाह गर्ने चाहना नै हराइसकेको छ ।
एक समय थियो । जब उनले स्कुलबाट एसएलसी पास गरेकी थिइन् । त्यतिबेला उनी एक जना साथीको विवाहमा गइन् । सो विवाहको क्रममा उनले ती साथीलाई बेहुलीको रूपमा तयार गरिन् । त्यति बेला उनले पनि बेहुली बनेर श्रीमान्को घरमा जाने कल्पना गरेकी थिइन्, ‘अझ बेलुका पक्षका केही केटाहरूले मलाई तपाईं त कत्ति राम्रै भन्दै विवाहको प्रस्तावसँगै राखेका थिए ।
त्यतिबेला मलाई जीवनमा बेहुली त बन्नैपर्छ जस्तो लागेको थियो ।’ ती साथीलाई अन्माएर बेहुलासँग पठाउँदा साथी रोएपछि उनलाई केही नमज्जा पनि लाग्यो । तर, त्यसको केही दिनमै आफ्नो साथीलाई श्रीमान्ले औधी माया गरेको देखेर उनलाई फेरि विवाह गर्ने चाहना जागेको थियो ।
स्कुले जीवन सकेर उच्च शिक्षा हासिल गर्न काठमाडौं आएपछि उनी गायन र खेलकुदमा व्यस्त रहिन् । त्यो समय उनी एथलेटिक्सतर्फ राष्ट्रिय खेलाडी थिइन् । उनी २०४४ सालमा गायिकासमेत भइसकेकी थिइन् । गायन र खेलकुदले उनलाई व्यस्त बनाउँदै गयो, ‘त्यो समय घरमा धेरै लमीहरू आएर बुबाआमासँग मेरो विवाहको कुरा चलाए । तर, म यता काठमाडौंमा खेलकुद र गायनमै व्यस्त रहेको कारण ती लमीहरूको चाहना पूरा हुन सकेन ।’
त्यस समय गायिका कोमल ओलीलाई माया गर्नेहरू धेरै थिए, ‘धेरैले माया गर्छु भन्थे । तर, म उनीहरूलाई साथीको रूपमा लिन्थें ।’ सोही कारण त्यतीबेला आफूले केटाहरूलाई मरिहत्ते गरेर प्रेम नगरेको पनि यी गायिकाले बताइन् ।
कोमल ओलीको भनाइमा त्यतिबेला फोन तथा मोबाइलको जमाना थिएन । आफूलाई मन पराउनेहरूले पत्रमित्रको रूपमा चिठ्ठी पठाउने गरेको यी गायिकाको कथन छ, ‘पत्रमा सबैले तपाईं साह्रै राम्री हुनुहुन्छ भन्थे । अझ म २०५० सालबाट रेडियो नेपालमा समाचार वाचिकाको रूपमा अनुबन्धित भएपछि त मन पराउँछु भन्नेहरूको चिठ्ठी यति धेरै आयो कि त्यसको सीमा छैन ।’ त्यतिबेला आएका चिठ्ठीहरू अझै केहीप्रति आफूूसँग भएको पनि उनले बताइन् ।
एउटा चिठ्ठीको एक लाइनले यी गायिकाको जीवनको यात्रा नै परिवर्तन गरिदियो । त्यो चिठ्ठी पठाउनेसँग अहिले पनि कुराकानी हुने गरेको उनले बताइन् । तर, साथीको रूपमा कुरा हुने गरेको उनको कथन छ । ती व्यक्तिले चिठ्ठीमा विवाह गर्न उनलाई साह्रै जिद्धी गरे । तर, कोमल मानिनन्, ‘तिम्रो जीवन नाविकबिनाको नाउँ हो । जीवनले नदीको अन्तरकुन्तर कतै ठक्कर खाला अनि मात्र तिमीले थाहा पाउला ।’
यसरी विवाह नगर्दा दुःख पाइने संकेत ती व्यक्तिले गरेपछि आफू झन् सचेत भएर अघि बढेको पनि उनले बताइन्, ‘त्यतिबेलासम्म म रेडियो नेपालको जागिर र गायनले अत्यन्त व्यस्त भइसकेको थिएँ । अब मैले आफूलाई कत्तै ठक्कर खान नदिई स्वतन्त्र भएर आफ्नो लागि अघि बढ्नुपर्छ भन्ने लाग्यो ।’ त्यसपछि विवाहको चाहनालाई त्यागेर आफू अघि बढेको पनि उनले बताएकी छन् ।
गायिका कोमलका तीजसम्बन्धी गीतमा ‘पैला जाम पाम, तन्नेरी चाहियो, पोइ चाहियो’जस्ता शब्दहरू हुने गरेका छन् । यस्ता गीत गाउँदा कतिपयले उनलाई विवाह गर्न नपाएर गीतबाट पीडा पोखेको टिप्पणी पनि गर्छन । तर, त्यो कुरालाई कोमल अस्वीकार गर्छिन् । यो आफ्नो नभएर अरूको भावना पोखेको पनि उनले बताइन् ।
अब आफूलाई विवाह गर्ने, बच्चा जन्माउने, छोरा छोरीका लागि सम्पत्ति चडेर ठूलोमान्छे बनाउने र श्रीमान्सँग चारधाम घुम्न जानेजस्ता कुनै सपना नभएको उनको कथन छ । अझै पनि उनलाई केही आफन्तले विवाह गर्नुपर्छ भन्दा रहेछन् । तर, उनलाई अब विवाहप्रति चासो छैन । मुलुकको राजनीतिले नयाँ मोड लिँदै छ । नेकपाकी नेतृत्व बनेकी कोमल अब आगामी चुनावमा आफ्नो क्षेत्रबाट सांसदको रूपमा उठ्ने तयारी गर्दै छिन् ।
‘अहिले स्वतन्त्र छु र दाङका जनताको सेवा गर्न पाएको छु । बुबाआमाको चाहना नै म राजनीतिमा लाग्ने भएकाले अबको जीवन राजनीतिमै बिताउनै निष्कर्षमा पुगिसकेकी छु ।’ कोमलले भनिन्, ‘हामी अझै पनि संयुक्त परिवारमा भएकाले सबैका माया पाइरहेको छु । परिवारमा दाजुभाइ, बहिनीका छोराछोरी भएकाले उनीहरूबाट त्यतिकै माया पाइरहेकी छु ।’ सोही कारण आफू एक्लो र अविवाहित छु भन्ने महसुस नभएको पनि उनले प्रकाश पारिन् । डब्बु क्षेत्रीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।