प्युठान। धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित प्युठानको स्वर्गद्वारी पुग्ने जो–कसैको ध्यान छेउछाउका खेतबारीमा रायोको भारी बोकेर उक्लिँदै गरेका मानिसको दृश्यले तान्छ । असोज–कात्तिकदेखि मंसिर, पुस र माघसम्म यहाँका बारीहरू एकनास हरियो देखिन्छ । ठूलो पात, बाक्लो बोट र डाले घाँसको आँठोजस्तो बाँधेर बोक्नुपर्ने भारीले स्वर्गद्वारीको ‘पास्सी रायो’ छुट्टै पहिचान बनाइसकेको छ ।
स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले यहाँको माटो, हावापानी र गोबर मलले साग असाध्यै राम्रो उत्पादन हुने बताउनुभयो । उहाले भन्नुभयो, ’एक पात नै पाँच–सात जनाको परिवारलाई पुग्ने गरी उत्पादन हुन्छ।’ उहाँका अनुसार, बारीमा उत्पादन हुने साग भारी बनाएर ओसार्नुपर्छ ।
गोठको दक्षिणतर्फ फैलिएको १९ रोपनी क्षेत्रफलमा रायोको व्यवस्थित खेती भइरहेको छ । आश्रमको मेसमा दैनिक करिब ७ सय जनालाई खाना पकाइने भएकाले साग यहाँ अनिवार्य परिकार हो । अधिकारीले भन्नुभयो, ’हाम्रो भान्सामा प्रत्येक दिन साग पक्छ । उत्पादन पर्याप्त भएकाले बजारतिर निर्भर हुनुपर्दैन।’
साग खेतीका लागि आश्रमले चार जना महिलालाई ज्यालादारीमा राखेको छ । उनीहरूले बारीको स्याहार, पानी सिँचाइ, टिपाइदेखि सागको भारी ओसार्नेसम्मको काम गर्छन् । बिहान सबेरै घामसँगै बारीमा काम सुरु हुन्छ र बेलुकीसम्म चलिरहन्छ । जो २० वर्षदेखि आश्रममा साग रोप्नेदेखि भान्सासम्म काम गर्दै आएकी कोचिवाङकी निमा खत्रीले भन्नुभयो, ’साग टिप्दा पात नै यति ठूलो हुन्छ कि भारी बनाउनै पर्ने हुन्छ । पाहुनाले अचम्म मानेर सोध्छन् ‘यो साग हो कि घाँसको भारी ?’
स्वर्गद्वारीको गौशालामा पालिएका गाईको गोबरले बारी मलिलो बनाउँछ। यही कारणले यहाँको साग स्वादिलो र पोसिलो हुने स्थानीयको बुझाइ छ ।
स्थानीयका लागि भने यो दृश्य सामान्य भइसकेको छ । खेतमा उम्रिएको साग भारी बनाएर भान्सामा पुग्छ, अनि पाहुनासँग फेरि गाउँसम्म कोसेली बनेर फर्किन्छ ।
स्थानीयहरू पनि सागको मौसमको लाभ उठाउँछन् । स्वर्गद्वारी नगरपालिकाका १, २ र ३ का उपल्लो क्षेत्रका बासिन्दा गाईको लागि खर लिएर आश्रम पुग्छन् र साग बोकेर फर्कन्छन् । स्वर्गद्वारीमा वर्षौँदेखि चलिरहेको सामुदायिक परम्परा यही हो ।
–गोरखापत्र दैनिकमा समाचार छ।
स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
Advertisement
तपाईको प्रतिक्रिया